न्यू योर्क। न्यू योर्क सिटी स्कुल चान्स्लर मेलिसा आभिलेस—रामोसले आप्रवासी परिवारलाई बालबालिका विद्यालय पठाउन आग्रह गरेकी छन्। न्यू योर्क सिटी मेयरले स्कूल, चर्च र अस्पतालजस्ता क्षेत्रमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) लाई प्रवेश गर्न दिने कि नदिने भन्ने सम्बन्धमा सिटी अन्तर्गतका निकायका कर्मचारीका लागि जारी गरेको ‘मेमो’ सार्वजनिक भएपछि चान्सलर आभिलेस—रामोसले भिडियोमार्फत त्यस्तो आग्रह गरेकी हुन्।
चान्सलर आभिलेस—रामोसले आइतबार भिडियो मार्फत आप्रवासीलाई आफ्ना बालबालिका विद्यालय जानबाट नरोक्न भनेकी छन्। ‘हाम्रो नीति परिवर्तन भएको छैन,’ उनले भनेकी छन्, ‘जुडिसियल वारेन्ट नभएसम्म कानून पालना गैर स्थानीय सुरक्षा निकायलाई विद्यालयमा प्रवेश गर्न दिइने छैन।’

मेयर आडम्सले डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नु एक साता अघि न्यू योर्क सिटी मातहत काम गर्ने कर्मचारीलाई आइससँग कसरी व्यवहार गर्ने भन्ने ‘मेमो’ जारी गरेका थिए। सीबीएस न्यूजले सार्वजनिक गरेको उक्त पत्र मार्फत आडम्सले स्कुल, चर्च र अस्पतालजस्ता क्षेत्रमा समेत आइसलाई प्रवेश गर्न दिन भनेको भन्दै विरोध भइरहेको छ। त्यसबाट डराएर कागजात विहीन आप्रवासीले आफ्ना बालबालिकालाई स्कुल पठाउन बन्द गर्ने सम्भावना मध्यनजर गर्दै आभिलेस—रामोसले भिडियो सन्देश जारी गरेकी हुन्।
पत्रमा सिटीका कर्मचारीलाई कार्यस्थलमा आएका आइस लगायतका सुरक्षा निकायलाई नाम सोध्न, परिचय, ब्याज नम्बर माग्न, जुडिसियल वारेन्ट माग्न भनिएको छ। त्यसका वावजुद आइस वा अन्य सुरक्षा निकाय कार्यस्थलमा प्रवेश गर्न खोजे उनीहरूलाई प्रवेश गर्न दिन र सोधेको प्रश्नको जवाफ दिन भनिएको छ।
आडम्सको मेमो विरुद्ध न्यू योर्क इमिग्रेसन कोलिएसन र मेक द रोड एक्सन लगायतका आप्रवासीसँग सम्बन्धित सङ्घसंस्था, कानून व्यवसायी, अधिकारकर्मी, र जनप्रतिनिधिहरूले म्यानह्याट्नस्थित ट्वीड कोर्टहाउसमा विरोध प्रदर्शन गरे।







प्रतिक्रिया