न्यू योर्क। दुई दर्जनभन्दा बढी धार्मिक समुहले मङ्गलबार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएसएस) लगायतका सुरक्षा निकाय विरुद्ध मुद्दा हालेका छन्। उनीहरूले चर्चजस्ता धार्मिक र अति संवेदनशील क्षेत्रमा आप्रवासी गिरफ्तार गर्न सुरक्षाकर्मीलाई प्रवेश गर्दा धार्मिक स्वतन्त्रता समेत हनन् भएको भन्दै डीएसएस विरुद्ध मुद्दा दायर गरेका हुन्।
मुद्धा डीएसएसकी सेक्रेटरी क्रिस्टी नम, कस्टम एण्ड बोर्डर प्रोटेक्सन, इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट लगायतका निकाय र ती निकायका नेतृत्वविरुद्ध दायर गरिएको छ। मुद्धा दायर गर्नेमा कूल २७ धार्मिक समुह छन्। त्यसमा मेन्नोनाइट चर्च, अपिस्कपल चर्च, युनियन फर रिफर्म जुडाइज्म, युनिटेरियन युनिभर्सलिस्ट एशोसियसन लगायतका छन्। उनीहरूले आप्रवासी गिरफ्तार गर्न सुरक्षाकर्मीले प्रवेश गर्ने भयका कारण श्रद्धालुहरू डराएको र भजन मण्डलीको सङ्ख्या घटेको जनाएका छन्।
उनीहरूले ‘भगवानको आँखामा सबै समान हुने र भगवानको घरमा सबैलाई स्वागत गरिने’ भन्दै मुद्दा दायर गरेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधानिक र आपराधिक पृष्ठभूमिका आप्रवासी लुक्ने भन्दै चर्च जस्ता धार्मिक स्थल, विद्यालय, अस्पताल लगायतका क्षेत्रमा सुरक्षा निकायका लागि प्रवेश खुला गरेका थिए। त्यसअघि ती क्षेत्रमा सुरक्षाकर्मीले छापा मार्दैन थिए। ती क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा परिभाषित गरिएको थियो।
न्यू योर्क सिटीका मेयर एरिक आडम्सले समेत संरक्षित क्षेत्रमा सुरक्षाकर्मीलाई प्रवेश दिने सम्बन्धमा सुविधायुक्त ‘मेमो’ जारी गरेका छन्। मेमोमा सिटीका कर्मचारीलाई कार्यस्थलमा आएका आइस लगायतका सुरक्षा निकायलाई नाम सोध्न, परिचय, ब्याज नम्बर माग्न, जुडिसियल वारेन्ट माग्न भनिएको छ। त्यसका बावजुद आइस वा अन्य सुरक्षा निकाय कार्यस्थलमा प्रवेश गर्न खोजे उनीहरूलाई प्रवेश गर्न दिन र सोधेको प्रश्नको जवाफ दिन भनिएको छ। यस्तो मेमोले दुविधा सिर्जना गरेपछि न्यू योर्क सिटी चान्स्लर मेलिसा आभिलेस—रामोसले भिडियो मार्फत आप्रवासीलाई आफ्ना बालबालिका विद्यालय जानबाट नरोक्न भनेकी छन्।





प्रतिक्रिया