न्यू योर्क। नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्न अघि न्यू योर्कमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने भएका छन्।
सेप्टेम्बर २१ मा न्यू योर्क आई पुग्ने ओलीले त्यसको भोलिपल्ट नेपाली समुदायलाई सम्बोधन गर्ने भएका हुन्। उनको साथमा नेपालकी परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि हुने छन्।
कार्यक्रम नेपाली महावाण्ज्यि दुतावासको अगुवाइमा न्यू योर्क सिटीको क्वीन्स स्थित गुल्सन टेरासमा साँझ साढे पाँच बजे हुने आयोजकले जनाएका छन्। कार्यक्रमका अन्य आयोजकमा नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र मधेशी एसोसियसन इन अमेरिका छन्।
नेपालका प्रधानमन्त्री ओली २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ११ दिने भ्रमणमा न्यू योर्क आउन लागेका हुन् । उनले सेप्टेम्बर २६ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले विश्वका नेताहरुलाई नेपालको शान्ति प्रक्रिया, जलवायु न्यायका लागि नेपालले गरेको प्रयास लगायत विषयमा हालै भएका सम्झौता कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ।
सेप्टेम्बर २२ र २३ मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आयोजना गर्ने ‘समिट अफ द फ्युचर’ मा सहभागी हुने कार्यक्रम रहेको छ। ओली सेप्टेम्बर २५ मा कोलम्बिया युनिभर्सिटीमा ‘लोकतन्त्र र आर्थिक समृद्धितर्फ नेपालको यात्रा’ शीर्षकका अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनेछन्। साथै, ओलीले विश्वका प्रमुख नेताहरुसँग साइडलाइन भेटवार्ता पनि गर्नेछन्।
भ्रमण टोलीमा नेपालका प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, उच्च सरकारी अधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत रहने छन्।










प्रतिक्रिया