न्यू योर्क। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यु योर्क आइपुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइताबार साँझ भेटवार्ता हुने भएको छ।
नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीभन्दा अघि भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेलाई भेट्ने छन्।
परराष्ट्र मन्त्रालयको उच्च श्रोतले एनवाइसीनेपालन्यूजलाई बताए अनुसार आइताबारबाट शुरु हुने समिट अफ द फ्युचरको उद्घाटन सत्रकै दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीवीच भेटवार्ता हुन लागेको हो। भेटवार्ता म्यानह्याट्नको लाट न्यू योर्क प्यालेस होटेलमा हुँदैछ। 'हाम्रा प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई आइतबार साँझ भेट्दै हुनुहुन्छ,' स्रोतले भन्यो, 'यो साइडलाइन भेटवार्ता हो एजेण्डा केन्द्रित छलफल हुँदैन। आपसी हीत प्रबद्र्धनका विषयमा मात्र कुराकानी हुन्छ।'
नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीभन्दा अघि भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेलाई भेट्ने छन्। ओली र मोदीवीचको भेटवार्ता अघि समिट अफ द फ्युचरलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। ओली र मोदीबीच साँझ भेटवार्ता हुने तय भएको उच्च श्रोतले जनाएको छ।
ओली नेपालको प्रधानमन्त्रीमा नियुक्ति भएपछि भारतीय प्रधानमन्त्रीसंग पहिलो पटक भेटवार्ता हुन लागेको हो। यो भेटवार्ता कुनै एजेण्डामा केन्द्रीत नभए पनि द्धिईपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र श्रोतको दावी छ। हालै नेपालमा नयाँ राजनीतिक समिकरणसहित केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएपछि नेपालका प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई भ्रमणको निम्तो दिएका थिए। तर, भारतबाट भने भ्रमणको लागि औपचारिक निमन्त्रणा आएको छैन ।
नेपाल र भारतबीच सीमा लगायतका समस्या लामो समयदेखि विवादका रुपमा रहदै आएको र यसमा उच्चस्तरीय तहबाट वार्ता हुन नसकिरहेको अवस्थामा दुवै देशका प्रधानमन्त्री तहमा हुन लागेको साइडलाईन भेटवार्तालाई महत्वपूर्ण रुपमा लिइएको छ। प्रधानमन्त्रीमा नियुक्तपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। प्राय नेपालका प्रधानमन्त्रीले नियुक्तिपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने गरेकोमा ओलीले भने आफ्नो भ्रमण अमेरिकाबाट शुरु गरेका छन्।
फोटो स्रोतः माइरिपब्लिका








प्रतिक्रिया