न्यू योर्क। २०२६ जनवरी १ सँगै न्यू योर्क सिटीले नयाँ मेयर पायो। नयाँ मेयर जोहरान माम्दानीको शपथग्रहण धेरै अर्थमा अघिल्ला मेयरहरूको परम्परागत ढाँचाभन्दा अलग, बढी प्रतीकात्मक र राजनीतिक सन्देशयुक्त देखियो।
माम्दानीले नयाँ वर्ष सुरु भएको केही क्षणमै “सिटी हल” मुन्तिर रहेको, लामो समयदेखि बन्द ऐतिहासिक “ओल्ड सिटी हल सब वे स्टेसन” मा निजी समारोहमार्फत पदको शपथ लिए। उनलाई न्यूयोर्क अटर्नी जनरल लेटिसिया जेम्सले शपथ गराइन्। माम्दानीले कुरान माथि हात राखेर शपथ लिए। विभिन्न रिपोर्टअनुसार सपथ ग्रहणमा प्रयोग गरिएका कुरान न्यूयोर्क पब्लिक लाइब्रेरीको सङ्ग्रहमा रहेको ऐतिहासिक प्रति हो, जसलाई “स्कोम्बर्ग सेन्टर” सँग सम्बन्धित भनिएको छ।
शपथग्रहणले मात्रै औपचारिकता पुरा गरेन। यसले माम्दानीको शासनदृष्टि र प्राथमिकताको सङ्केत पनि दियो। सार्वजनिक यातायात र कामदार वर्गसँग प्रत्यक्ष जोडिएको स्थल छनोट गरेर उनले शहरको “अन्डरग्राउन्ड” जीवन र दैनिक श्रमलाई केन्द्रमा राख्ने सन्देश दिएका छन्। एबीसी न्युजका अनुसार माम्दानीले पुरानो स्टेसनलाई शहरको “जीवन्तता, स्वास्थ्य र विरासत” मा सार्वजनिक यातायातको महत्त्व झल्काउने प्रतीकको रूपमा व्याख्या गरेका थिए।
त्यसपछि दिउँसो पुनः ठूलो सार्वजनिक समारोह “सिटी हल” बाहिर हजारौँ मानिसको उपस्थितिमा माम्दानीको सपथग्रहण भयो। सेनेटर बर्नी स्यान्डर्सले माम्दानीलाई औपचारिक रूपमा शपथग्रहण गराए। न्यू योर्क स्टेट रिप्रिजेन्टेटिभ एलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले उद्घाटन सन्देशसहित माम्दानीलाई भीडसँग परिचय गराइन्। ओकासियो–कोर्टेजले न्यूयोर्कले “डर” होइन “साहस” रोजेको भन्दै, जोहरान माम्दानीलाई काम गर्ने वर्गका मानिसहरूको जीवन “सहज र स्वप्निल” बनाउने लक्ष्यमा अविचल समर्पित मेयरका रूपमा प्रस्तुत गरिन्।
माम्दानीले सम्बोधनमा “सानो अपेक्षा” को राजनीतिक संस्कृतिलाई अस्वीकार गरे। उनले घोषणा गरे, “आजदेखि हामी व्यापक र साहसी ढंगले शासन गर्नेछौँ। हामी सधैं सफल नहुन सक्छौँ, तर प्रयास गर्न साहस नदेखाएको आरोप हामीमाथि लाग्ने छैन।” उनले अर्को कडा सन्देश पनि दिए, “सिटी हल” ले अब न्यू योर्कवासीको जीवन सुधार्न आफ्नो शक्ति प्रयोग गर्न हिच्किचाउने छैन।” उनले आफ्नो राजनीतिक पहिचान अझ स्पष्ट पार्दै “म डेमोक्रेटिक सोसलिस्टका रूपमा निर्वाचित भएको हुँ र डेमोक्रेटिक सोसलिस्टकै रूपमा शासन गर्नेछु” भन्ने अडान दोहोर्याए।
स्यान्डर्सले माम्दानीको विचारलाई “र्याडिकल” भनेर नडराउन आग्रह गरे। उनले “अफोर्डेबल हाउजिङ” जस्ता मुद्दालाई “र्याडिकल होइन, सही र सभ्य कुरा” भन्दै भने, “संसारकै धनी देशमा मानिसहरूलाई सस्तो घरमा बाँच्न सक्ने व्यवस्था गर्नु अनौठो होइन।” स्यान्डर्सले माम्दानीले डेमोक्रेटिक र रिपब्लिकन इस्टाब्लिसमेन्ट राष्ट्रपति र अत्यन्त धनी “ओलिगार्क” हरूसँग भिडेर जितेको भन्दै यसलाई आधुनिक अमेरिकी राजनीतिक इतिहासकै ठूलो परिवर्तन मध्ये एक भएको बताए। भने, “घृणा, विभाजन र अन्याय धेरै देखिएको समयमा सबैका लागि काम गर्ने सरकार चाहिएको छ।”
यसै समारोहमा “पब्लिक एड्भोकेट” जुमानी विलियम्सले पनि शपथ लिएर भावुक सम्बोधन गरे। उनले आफ्नै बाल्यकालका आफूलाई सम्बोधन गर्दै भने, “सानो कालो केटा, तिमी मूल्यवान छौ। सधैं थियौ। कुनै पद–उपाधि बिना पनि तिमी पर्याप्त थियौ। तिमी प्रेमको हकदार छौ, सुरक्षाको हकदार।” उनले थपे, “म त्यस्तो शहर बनाउन मद्दत गर्न यहाँ हुन पाएकोमा गौरवान्वित छु।”
शपथग्रहणलाई सिटी हल वरिपरि सीमित राख्ने परम्परा तोड्दै यस पटक “क्यान्यन अफ हिरोज” क्षेत्र सबैका लागि खुला “इन्अगुरेसन ब्लक पार्टी” आयोजना गरियो। ब्लक पार्टी ब्रडवेस्थित लिबर्टी स्ट्रिटदेखि मरे स्ट्रिटसम्म आयोजना गरिएको थियो।
माम्दानी न्यू योर्क सिटीका पहिलो मुस्लिम मेयर हुन्। उनी कुरान प्रयोग गरेर शपथ खाने पहिलो मेयर पनि हुन। यसले न्यूयोर्कको बहुसांस्कृतिक र आप्रवासी पहिचानलाई संस्थागत रूपमा स्वीकार्ने सन्देश दिनुका साथै, हालका वर्षहरूमा आप्रवासी र मुस्लिम समुदायले भोग्दै आएको सामाजिक–राजनीतिक दबाबका बीच “यो शहर बहुलता र समानताको पक्षमा उभिन्छ” भन्ने प्रतीकात्मक घोषणा पनि गरेको देखिन्छ।
पहिलो दिनमै ममदानीले नीतिगत सङ्केत पनि दिएका छन्। उनले अघिल्लो प्रशासनले २०२४ सेप्टेम्बर २६ पछि जारी गरेका केही “एक्जिक्युटिभ अर्डर” हरू खारेज गर्ने कदम चाल्नेछन्। यो निर्णयलाई धेरैले पुरानो सिटी हलको राजनीतिक शैलीबाट दूरी बनाउँदै आफ्नै एजेन्डा “अफोर्डेबिलिटी, टेनन्ट प्रोटेक्सन र सार्वजनिक सेवा विस्तार” लाई प्राथमिकता दिने संकेतका रूपमा हेरेका छन्।








प्रतिक्रिया