न्यू योर्क। क्लेयर भाल्डेजले शनिबार आफ्नो मतदातासमक्ष न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बरको सपथ ग्रहण गरेकी छन्। उनले न्यू योर्क सिटीको सन्निसाइडमा एक कार्यक्रम आयोजना गरी सपथ ग्रहण गरेकी हुन्।
डिस्ट्रिक्ट ३७ बाट न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बरमा निर्वाचित भाल्डेजले औपचारिक रुपमा पदभार तथा सपथ ग्रहण भने जनवरी ८ मा अल्बानीमा गरेकी थिइन्। उनले गत वर्ष जुनमा भएको प्राइमरी निर्वाचनमा प्रतिद्वन्दी जोवाना कार्मोनलाई पराजित गरेकी थिइन्। स्टेट एसेम्ब्ली मेम्बरमा भने उनी नोभेम्बरमा भएको आम निर्वाचनमा निर्विरोध विजयी भएकी थिइन्।
डिस्ट्रिक्ट ३७ मा सन्निसाइड, म्यास्पेथ, उडसाइड, रिजउड र लङ आइल्याण्डको भुभाग पर्छन्। भाल्डेजले यो क्षेत्रका तल्लो तह र गरिखाने वर्गको पक्षमा आवाज उठाउँदै आएकी छन्। युनाइटेड अटो वर्कस (युएडब्लु) बाट तल्लो वर्गका पक्षमा काम सुरु गरेकी उनले सपथ ग्रहण कार्यक्रममा न्यू योर्कजस्तो संसारकै सबैभन्दा धनी देशको सबैभन्दा धनी सहरमा शालीन जीवन कठिन भएको बताइन्। ‘हाम्रो शहरमा शालिन जीवन कठिन बन्दै गइरहेको छ। जलवायु सङ्कटको असर छ,’ उनले भनिन्, ‘हामीलाई यो पनि थाह छ कि हाम्रो शहर (न्यू योर्क सिटी) संसारको सबैभन्दा धनी देशको सबैभन्दा धनी शहर हो।’
भाल्डेजलाई उनले संगठनात्मक काम सुरु गरेको युएडब्लु क्षेत्र ९एका अध्यक्ष ब्राण्डन मान्सिलाले मतदाता समक्ष सपथ ग्रहण गराएका थिए। कार्यक्रममा भाल्डेजले निर्वाचनमा आफूलाई सहयोग गर्ने युएडब्लु, ड्रम बिट्स, र मेक द रोड न्यू योर्क जस्ता संस्थालाई सम्झिइन् नेपाली सहित दक्षिण एसियाली तथा इन्डो करेबियन आप्रवासी समुदायको राजनीतिक अधिकारको पक्षमा काम गर्ने ड्रम बिट्सले भाल्डेजको चुनावी अभियान समर्थन तथा सहयोग गरेको थियो।
कार्यक्रममा कंग्रेसवुमन नाइडिया भलास्केज सहित स्टेट सिनेटर, एसेम्ब्ली मेम्बर सिटी काउन्सिल मेम्बरहरू उपस्थित थिए। उनीहरुले भाल्डेजलाई स्टेट एसेम्ब्ली मेम्बरका रुपमा सफल कार्यकालको शुभकामना दिए। कंग्रेसवुमन भलास्केजले राष्ट्रपति डोनाल्ड ट्रम्पले समय वर्वाद गरिहेको बताइन्। उनले यतिबेलाको सबैभन्दा ठूलो जिम्मेवारी सबैभन्दा कमजोरलाई सुरक्षा गर्नु रहेको उल्लेख गरिन्। कंग्रेस वुमन भलास्केजले ट्रम्प प्रशासनको मास डिपोर्टेसनबाट जोगाउन आप्रवासीहरुलाई नो योर राइट्स प्रशिक्षण दिइरहेकी छन्। उनी गाजामा युद्धविराम आह्वान गर्ने पहिलो महिला कंग्रेसवुमन हुन्।
सपथ ग्रहण समारोहको भिडियो सामाग्रीः






प्रतिक्रिया