न्यू योर्क। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को नयाँ नेतृत्वमा पुनः इन्दिरा चोङबाङ निर्वाचित भएकी छन् । फिवनाको ज्याक्सन हाइट न्यू योर्कमा हिजो भएको चौथो महाधिवेसनले चोङबाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चोङबाङ दोश्रो कार्यकालको लागि अध्यक्षमा चयन भएकी हुन् । उनी फिवनाको संस्थापक सदस्य समेत हुन् । फिवनाको वरिष्ठ उपाध्यक्षमा इन्दु गुरुङ लामिछाने, उपाध्यक्षमा पूर्व डिआइजी पार्वता थापामगर र महासचिवमा मैया तामाङ चुनिएकी छन् । त्यस्तै सचिवमा इन्दिरा राई, कोषाध्यक्षमा डा. शुभद्रा लिम्बु, सहकोषाध्यक्षमा आभा श्रेष्ठ, कार्य सािमत सदस्यमा बिमला पोमो, मैनासेन बज्राचार्य, निमा शेर्पा, इन्दिरा घर्ति रहेका छन्। फिवनाले संस्थापक अध्यक्ष संगिनी रानामगरको संयोजकत्वमा सदस्यहरु मच्छेदेवी गुरुङ, वन्दना राई र इन्दिरा घर्तिमगर रहेको ४ सदस्यीय निर्वाचन कमिटीलाई अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो। निर्वाचन कमिटीले सफलतापूर्वक नयाँ कार्यसमिति चयन गरेको हो ।
महाधिवेसनको उद्घाटन सत्रको उद्घाटन प्रमूख अतिथि नेपाली महावाणिज्यदुत दधीराम भण्डारीले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । प्रमूख अतिथि नेपाली महावाणिज्यदुत दधीराम भण्डारीले परदेशको भुमिमा फिवनाले नेपाली समुदायको लागि समसामयिक बिषयहरुमा गरिरहेको काम देखेर खुशी लागेको बताए । नेपाली महिलाहरु अहिले चुलोचौकामा मात्र नभएर राजनीतिक चेतनामा बृद्धि हुनुका साथै महिलाको उपस्थिति उल्लेख्य रुपमा रहेको महावाणिज्यदुत भण्डारीको भनाई छ । नेपाली समुदायको चासो र कल्याणको लागि सहकार्य गरेर हातेमालो गर्न महावाणिज्यदुत सधै तत्पर रहेको महावाणिज्यदुत भण्डारीको भनाई छ । उद्घाटन सत्रको विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङले बिदेशमा रहेर पनि आदिवासी जनजाति र जनजाति महिलाहरुको लागि फिवनाले गरिरहेको कामको प्रशंसा गर्दै यस्तो कामको निरन्तरता दिन सुझाव दिए। अध्यक्ष गुरुङले फिवनाले पाक्षिक रुपमा सञ्चालन गरिरहेको भच्र्युअल छलफल समुदायको लागि उपलब्धीमुलक रहेको उल्लेख गरे ।

संस्थाकी नवनिर्वाचित अध्यक्ष इन्दिरा चोङबाङले आफुलाई विश्वास गरेर दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिैंदै संस्थालाई अझ बलियो बनाउनको लागि आफु सधैं लागि पर्ने बताइन् । संस्थाको स्थापनाकाल देखि नै महिला दिदीबहिनीहरुको लागि संस्थाले गरिरहेको महिला शशक्तिकरणको लागि गरिरहेको कामलाई निरन्तरता दिने अध्यक्ष चोङबाङको भनाई छ । अध्यक्ष चोङबाङले पहिलो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु तथा साधारण सदस्यहरुलाई धन्वाद व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष चोङबाङल चौथो अधिवेसन सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन कमिटीलाई धन्यवाद व्यक्त गरे ।

अधिवेसनको उद्घाटन सत्रको कार्यक्रम निवर्तमान महासचिव इन्दु गुरुङ लामिछानेले सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुलाई फिवनाका निवर्तमान उपाध्यक्ष मैया तामाङले स्वागत मन्तव्य राखेका थिए। उद्घाटन सत्रमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुका सहभागी थिए ।
बन्द सत्रमा संस्थाको आर्थिक प्रतिवेदन सहकोषाध्यक्ष डा. सुभद्रा लिम्बले प्रस्तुत गरेका थिए भने सांगठनिक प्रतिवेदन महासचिव इन्दु गुरुङ लामिछानेले पेश गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । बन्द सत्रको सहजीकरण निर्वाचन कमिटीका सदस्य मच्छेदवी गुरुङले गरेका थिए । संस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी रानामगरले संस्थालाई बलियो बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरिन् । नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई निर्वाचन कमिटीले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । सल्लाहकार वन्दना राईले सबै दिदी बहिनी महिलाहरु एकजुट भएर संस्थालाई अझ बलियो बनाउन सुझाव दिइन् ।
नवनिर्वाचित अध्यक्ष चोङबाङले उपस्थित सम्पूर्ण अतिथिहरु र सदस्यहरुलाई धन्यबाद तथा आभार ब्यक्त गर्दै सम्पूर्णले यसैरी साथ सहयोग गर्न आग्रह गरिन् ।








प्रतिक्रिया