०७ वैशाख २०८३, सोमबार
Mon, Apr 20, 2026
SUBSCRIPTION

मिनियापोलिस स्कुल गोलीकाण्ड: २ विद्यार्थीको मृत्यु, करिब २० घाइते; आक्रमणकारी पनि मृत

मिनियापोलिस स्कुल गोलीकाण्ड: २ विद्यार्थीको मृत्यु, करिब २० घाइते; आक्रमणकारी पनि मृत

न्यू योर्क। साउथ मिनियापोलिसको एन्यून्सिएशन क्याथोलिक स्कूलमा भएको गोलीकाण्डमा बुधबार बिहान  दुई विद्यार्थीको मृत्यु भएको छ। करिब २० जना घाइते भएका छन। गोलीकाण्डमा आक्रमणकारी पनि मृत फेला परेका छन्। हाल सार्वजनिक सुरक्षामा खतरा नभएको प्रहरीको भनाइ छ।

घटना बिहान करिब ८:४५ बजे वेस्ट ५४ स्ट्रीटको हेरिएट र गारफिल्ड एभेन्यूमा भएको बताइएको छ। अधिकारीहरूका अनुसार आक्रमणकारीले कालो लुगा लगाएका थिए र राइफल, सटगन र पेस्तोल प्रयोग गरेको देखिएको प्रहरीको भनाई छ ।

स्कुल भित्र प्रार्थना भइरहेका बेला बाहिरबाट बन्दुकधारीले गोली प्रहार गरेको प्रहरीको भनाइ छ। चर्चसँगै रहेको निजी एन्नन्सियसन क्याथोलिक स्कुलमा किन्डरगार्डेन देखि कक्षा ८ सम्माका विद्यार्थीहरु प्राथनामा सहभागी भएका थिए। मिनियापोलिसका एक काउन्सिल मेम्बरले घाइते मध्ये सात जना चिन्ताजनक अवस्थामा रहेको जानकारी दिएका छन। कम्तीमा १० बालबालिका नजिकैको अस्पतालमा उपचाररत छन् र पाँच जना चिल्ड्रेन्स मिनेसोटामा भर्ना गरिएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा ८ वर्षीय बालक र १० वर्षीया बालिका रहेका छन् । प्रहरी प्रमुख ब्रायन ओहाराका अनुसार बन्दुकधारीले चर्चको झ्यालबाट भित्र गोली प्रहार गरेका थिए। “उनी बाहिरबाटै गोली चलाइरहेका थिए,” उनले भने। एफबीआई, स्टेट ट्रुपर र मिनियापोलिस प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी क्षेत्र घेरेका छन्। सर्वसाधारणलाई वेस्ट ५४ स्ट्रीट लिनडेल र निकोलेट एभेन्यूबीच नजान आग्रह गरिएको छ।

मिनेसोटाका गभर्नर टिम वाल्जले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै विद्यालय खुलेको पहिलो हप्ता नै यस्तो विभत्स हिंसाको घटना हुँदा आफु अत्यन्त दुखित भएको उल्लेख गरेका छन् । घटनाको सङ्घीय, राज्य र स्थानीय निकायका सुरक्षा निकायले अनुसन्धान सुरु गरेका छन्। प्रहरीका अनुसार आक्रमणमा उनी एक्लै संलग्न थिए। हाल प्रहरीले उनीद्वारा छोडिएका कागजात र अन्य सूचनाहरू अध्ययन गरेर सम्भावित उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको बताइएकोछ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नर वाल्जलाई फोन गरी मिनेसोटावासीप्रति समवेदना प्रकट गरेका छन् । 

प्रतिक्रिया