न्यू योर्क। न्यू योर्क सिटीको जारी प्राइमरी निर्वाचनको मेयर पदका प्रत्यासी तथा सिटी कम्प्ट्रोलर ब्राड ल्याण्डरलाई मंगलबार दिउँसो मास्क लगाएका इमिग्रेसन अधिकारीहरूले गिरफ्तार गरेका छन्। उनलाई केही घण्टा नियन्त्रणमा लिएर बिना अभियोग छाडिएको छ।
वर्षौंदेखि न्यू योर्क सिटी कम्प्ट्रोलर काम गरिरहेका ल्याण्डरले एडगार्डो नामक एकजना कागजात विहीन आप्रवासीलाई गिरफ्तार हुनबाट जोगाउन खोजेपछि इमिग्रेसन अधिकारीहरूले उनलाई गिरफ्तार गरेको हो। म्यानहाटनस्थित इमिग्रेसन कोर्टका न्यायाधीशले एडगार्डोको मुद्धा खारेज गरिदिएपछि इमिग्रेसन अधिकारीहरूले उनलाई गिरफ्तार गर्न खोजेका थिए। त्यसक्रममा कम्प्ट्रोलर ल्याण्डरले उनलाई खाम हालेर समातेका थिए भने इमिग्रेसन अधिकारीहरूसँग ‘जुडिसियल वारेन्ट’ मागेका थिए।
आप्रवासीका मामिलामा ट्रम्प प्रशासनको तारोमा पर्ने उनी पहिलो सरकारी अधिकारी भने होइनन्। यी घटनाहरूले अमेरिकामा राजनीतिक अस्थिरता गम्भीर रुपमा बढिरहेको देखाउँछ।
ल्याण्डर निर्वाचित सरकारी अधिकारी हुन्। चालु प्राइमरी निर्वाचनमा मेयर पदको एकजना सशक्त र चर्चित उम्मेदवारसमेत भएकाले उनको गिरफ्तारीले राजनीतिक वृत्तमा तत्काल तरङ्ग पैदा गरेको थियो। गिरफ्तारीको विरोधमा गभर्नर क्याथी होकुलदेखि मेयर पदका प्रत्यासीहरू र चर्चित राजनीतिज्ञहरूले अभिव्यक्ति दिएका थिए। गिरफ्तारीलाई ‘फासीवाद’, ‘समाजमा त्रास पैदा गर्न खोजेको’, ‘सैन्यकरण गरेको’ लगायतका नाम दिइएको थियो।
ल्याण्डरका समर्थक समेत विरोधमा उत्रिन थालेका थिए। करिब चार घण्टापछि उनलाई बिना अभियोग छाडिएको थियो। उनलाई इमिग्रेसन अधिकारीहरूले सुरक्षाकर्मीमाथि हातपात गरेको र उनीहरुको काममा अवरोध पैदा गरेको अभियोगमा गिरफ्तार गरेका थिए।
कम्प्ट्रोलर ल्याण्डरले उनलाई इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले गिरफ्तार गरेका छाडेको बताएका छन्। आप्रवासीका मामिलामा ट्रम्प प्रशासनको तारोमा पर्ने उनी पहिलो सरकारी अधिकारी भने होइनन्। गत महिना न्यू जर्सीकी कंग्रेसवुमन लामोनिका म्याकआइभरमाथि आइसका अधिकारीहरूलाई अभद्र व्यवहार गरेको अभियोग लगाइएको थियो। त्यस्तै नेवार्कका मेयर रास बाराकालाई गिरफ्तार गरिएपनि अभियोजकले मुद्दा हाल्न अस्वीकार गरेका थिए। यी घटनाहरूले अमेरिकामा राजनीतिक अस्थिरता गम्भीर रुपमा बढिरहेको देखाउँछ।





प्रतिक्रिया