न्यू योर्क। क्विन्सको फ्लसिङस्थित सिटी फिल्डमा बनाउन लागिएको क्यासिनो योजना विरद्ध फेरि स्थानीय वासिन्दाले ऱ्याली निकालेका छन।
नोभेम्बर १६ मा निकालिएको ऱ्यालीमा दर्जनौं स्थानीय सहभागी थिए। उनीहरूले फ्लसिङमा क्यासिनो आवश्यक नभएको भन्दै विरोधमा नारावाजी गरेका थिए। साथै उनीहरूले क्यासिनो प्रस्ताव गर्ने न्यू योर्क स्टेट सेनेटर जोन लिउ (क्विन्स) र एसेम्ब्ली मेम्बर लारिन्डा हुक्सविरुद्ध पनि नारावाजी गरेका थिए। लिउ र हुक्सले क्यासिनोको प्रस्ताव गरेका थिए। प्रस्ताव नगरे पनि न्यू योर्क सिटी मेयर एरिक आडम्स, गभर्नर क्याथी होकुल, क्विन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचर्ड्स, काउन्सिल मेम्बर फ्रान्सिस्को मोया र सेनेट डेपुटी मेजरिटी लिडर माइकल जियनरिस क्यासिनोका कडा समर्थक हुन।
निर्माण स्वीकृतिको औपचारिक प्रक्रिया अघि बढिरहेका बेला क्यासिनो योजनामाथि स्थानीय स्तरका विरोध प्रदर्शन पनि तीव्र बनेका हुन्। साथै यो योजनाले अदालतको मुद्दा पनि सामना गर्नु परिरहेको छ।
न्यू योर्क मेट्सका मालिक स्टिभ कोहेन र हार्ड रक कम्पनीले सिटी फिल्डको ठूलो पार्किङ क्षेत्रलाई “मेट्रोपोलिटन पार्क” नामको नयाँ परियोजनामा बदल्ने योजना अघि सारेका थिए जसको मुख्य हिस्सा क्यासिनो थियो। करिब ८ अर्ब डलर लागतको यस योजनामा क्यासिनो, होटल, कन्सर्ट हल, रेस्टुरेन्ट, पसल तथा नयाँ खुला पार्क क्षेत्र बनाउने प्रस्ताव छ। उनीहरूले यो परियोजनाबाट हजारौँ युनियन रोजगारी सिर्जना हुने र क्विन्सले ठूलो कर राजस्व पाउने दाबी गरेका छन्।
सिटी सरकारले यो योजनाका लागि जग्गा प्रयोग गर्न स्विकृती दिइसकेको छ। सिटी काउन्सिलले सिटी फिल्ड वरिपरिका पार्किङ क्षेत्रलाई व्यावसायिक विकास गर्न मिल्नेगरी पुनः वर्गीकृत गरेको छ।
राज्यस्तरीय कम्युनिटी एडभाइजरी कमिटी ले मेट्रोपोलिटन पार्कलाई ६–० मतले समर्थन गरेको थियो। त्यसपछि फ्लसिङको यो प्रस्ताव डाउनस्टेट क्यासिनो लाइसेन्सको अन्तिम प्रक्रियामा छ। तीन लाइसेन्समध्ये दुईक लागि क्विन्सको रिजोर्ट्स वर्ल्ड र योङ्कर्सको एमजिएम एम्पायर सिटीलाई मुख्य दाबेदार मानिएको छ।
हाल यो योजनाको मुख्य बाधक युएस टेनिस एसोसिएसनको मुद्दा बनेको छ। यूएस ओपन सञ्चालन गर्ने एसोसिएसनले बिली जीन किङ नेसनल टेनिस सेन्टर सञ्चालन गर्न दीर्घकालीन भाडा सम्झौता गरेको छ। त्यसले आफूलाई प्रतियोगिता चल्ने २३ दिनमा पार्किङको नियन्त्रण गर्ने र ठूला कार्यक्रम आयोजना गर्न अधिकार दिएको भन्दै क्यासिनोले त्यो अधिकार हनन गर्ने दाबी सहित एसोसिएसन न्यू योर्क सिटी विरुद्ध अदालत पुगेको छ। एसोसिएसनले सिटीसँग २०९२ सम्मका लागि समझौता गरेको छ।
म्यानह्याटनका एक न्यायाधीशले सिटीले एशोसियसनसँगको पुरानो सम्झौता उल्लङ्घन नभएको प्रमाण नदिएसम्म क्यासिनोसँग सम्बन्धित नयाँ भूमिउपयोग वा पार्किङ सम्झौतामा हस्ताक्षर गर्न नपाउने निर्णय गरेको छ। यो आदेशले हालका लागि क्यासिनो रोकिएको छ।
यसैबीच, गेमिङ फेसिलिटी लोकेसन बोर्डले प्रस्तावित क्यासिनो स्थलहरू हेर्ने र मूल्यांकन गर्ने काम गरिरहेको छ। बोर्डले अधिकतम तीनवटा परियोजनाको सिफारिस गर्नेछ।





प्रतिक्रिया