न्यु योर्क। चालू शैक्षिक सत्रदेखि न्यु योर्क राज्यभरि विद्यालय परिसरमा पढाइ सुरुदेखि अन्त्यसम्म व्यक्तिगत इन्टरनेट चल्ने उपकरण चलाउन नपाइने नियम लागू भएको छ। यसमा मोबाइल फोन, स्मार्टवाच, ट्याब्लेट र निजी ल्याप्टप पर्छन्।
न्यु योर्क सिटीले पनि राज्यको नियमअनुसार आफ्नो नीति अद्यावधिक गरेर आजदेखि लागू गरेको छ। यी उपकरण विद्यालय भित्र प्रवेश गरेपछि बन्द गरेर राख्नैपर्छ। अभिभावकलाई सन्तानसँग आपत्कालीन सन्देश आदान–प्रदान गर्न सहज होस् भनेर हरेक विद्यालयले अभिभावकका लागि सीधै सम्पर्क गर्ने फोन नम्बर दिनुपर्छ। यो व्यवस्था राज्य र सिटी दुवै नीतिमा अनिवार्य छ। विद्यालयले परिवारलाई यो व्यवस्था लेखेर जानकारी गराउनुपर्ने पनि नियममा छ।
विद्यालयले यी उपकरण बन्द गरेर राख्न लकर्स, होल्डर, वा दिनभरि लक हुने विशेष ‘पाउच’ उपलब्ध गराउनु पर्छ। न्यु योर्कका विद्यालयहरूले आजदेखि यस्तै विधि अपनाएर पढाइ सुरु गरेका छन्।
चिकित्सकीय कारणका लागि भने विद्यार्थीलाई विद्यालयले फोन लगायतका उपकरण चलाउने स्वीकृति दिएको छ। यी उपकरण पढाइ गर्न र अन्य विकल्प नभएका बेला अनुवादका लागि सीमित प्रयोग गर्न पाइन्छ। तर त्यसका लागि बिद्यालयबाट पहिले नै लिखित रूपमा स्वीकृत हुनुपर्छ।
यी उपकरण चलाएको आधारमा बिद्यार्थी निलम्बन गर्न पाइँदैन। उपकरण जफत र फिर्ता गर्ने प्रक्रिया विद्यालयको लिखित नीतिअनुसार हुन्छ। हरेक विद्यालयले आफ्ना नियमहरू वेबसाइटमा राख्नुपर्छ। परिवार तथा कर्मचारीलाई समयमै उपलब्ध गराउनु पर्छ।
‘बेल टु बेल’ कानून कार्यान्वयनका लागि न्यू योर्क राज्यले १३.५ मिलियन डलर छुट्याएको छ, जसले भण्डारणका सामग्री (जस्तै पाउच) किन्न र सम्पर्क प्रणाली बनाउन सहयोग पुर्याउँछ। सिटी र अन्य प्रशासनिक इकाईहरूले पनि आफ्नै बजेटबाट आवश्यक तयारी गरेका छन्।





प्रतिक्रिया