न्यू योर्क। योर्क सिटीका मेयरका लागि डेमोक्रेटिक प्रत्याशी जोहरान मम्दानीले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेशनल गार्ड पठाउने र सङ्घीय नियन्त्रणको धम्की बारे कडा आपत्ति जनाएका छन्।
न्यू योर्कमा शनिबार भएको एक कार्यक्रममा उनले ट्रम्पलाई “सहरमाथि कब्जा” गर्ने भाषा प्रयोग गरेको बारे चुनौती दिए। उनले भने, “हामी प्रतिरोध गर्छौँ”। मम्दानीले आफ्नो अभियानलाई “फाइभ बोरोज अगेन्ट ट्रम्प” टुरको रुपमा प्रस्तुत गरिरहेका छन्। उनले भने “यो प्रत्यक्ष रुपमा म भर्सेस ट्रम्प हो”।
ट्रम्पले मम्दानीलाई “कम्युनिस्ट” भनेर आक्रमण गरेका थिए। उनले मम्दानी मेयर बने “राम्ररी व्यवहार गर” भन्दै चेतावनी दिनुका साथै न्यू योर्क सिटीको बजेट रोक्ने धम्की दिएका थिए। मम्दानीले यसलाई मेयरको दौडमा ट्रम्पको हस्तक्षेप भनेर आरोप लगाएका छन्। उनले मेयर पदका प्रतिद्वन्दी एन्ड्र्यु कुमोले ट्रम्पसँग समन्वय गरेको दाबी गरेको समेत गरेका छन्। यद्यपि कुमोले त्यसलाई अस्वीकार गरेका छन्।
न्यू योर्क सिटीका अधिकारीहरू र प्रहरी कमिस्नर जेसिका टिसले नेशनल गार्ड पठाउने ट्रम्पको भनाइको विरोध गरेका छन्। उनीहरूले हिंसात्मक अपराध दर कम भएको तर्क दिँदै नेशनल गार्ड परिचालनको विरोध गरेका हुन्।
मम्दानी क्विन्सका एसेम्बली सदस्य हुन्। उनले नोभेम्बरको निर्वाचनअघि भाडा स्थिरता, निःशुल्क बस सेवा र निःशुल्क चाइल्ड केयर जस्ता नारा अघि सारेका छन्।



प्रतिक्रिया