न्यूयोर्क । म्यानहटन शहरको ब्यस्त क्षेत्र मिडटाउनस्थित पार्क एभिन्युमा सोमबार साँझ एक बन्दुकधारीले चलाएको गोली लागी चार जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकजना ड्युटीमा नरहेका प्रहरी अधिकृत समेत रहेको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । अन्दाधुन्दा गोली प्रहारपछि बन्दुकधारीले आफैलाई गोली प्रहरी गरी हत्या गरेको पनि प्रहरीले जनाएको छ ।
म्यानह्याटनको पार्क एभिन्युस्थित ५१ स्ट्रिट र ५२ स्ट्रिटकोबीचमा रहेको ३४५ व्यवसायिक भवनमा उक्त घटना भएको हो । घटना लगतै पुगेका प्रहरीले घटनास्थलमा चार जनाको शव फेला परेको थियो भने बन्दुकधारीको समेत शव फेला परेको थियो । न्युयोर्क प्रहरीका अनुसार प्रहरीले घटनाको जानकारी पाए लगतै साँझ ६ः२८ बजेतिर प्रहरीहरू ३४५ पार्क एभिन्यु स्थित भवनमा पुगेका थिए । यो भवनमा ब्ल्याकस्टोन लगानी संस्था र नेशनल फुटबल लिग लगायतको कार्यालयहरू छन् ।
घटना लगतै सयौं प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेका थिए र सो क्षेत्रलाई नियन्त्रणमा लिएका थिए । भवनमा रहेका कर्मचारीहरूले माथिल्लो तलाबाट ठूलो आवाज सुनेको बयान दिएका छन्। सुरुमा उनीहरूले यसलाई सामान्य रूपमा लिए पनि पछि एक इमेलबाट भवनभित्र बन्दुकधारी भएको सूचना पाए। त्यसपछि अर्को इमेलमा भवन खाली गर्न भनिएको थियो । एनएफएलका कर्मचारीहरू भित्रै सुरक्षित स्थानमा बसेका थिए। करिब ७ बजेदेखि मानिसहरू हात माथि उठाएर भवनबाट बाहिर निस्कन थाले। केही दौडिए भने केही सामान्य भावमा हिँडिरहेका देखिन्थे। प्रहरीले घटनास्थल वरिपरि सुरक्षात्मक घेरा बनाएका थिए, ड्रोन र हेलिकप्टर परिचालित थिए। घटनामा संलग्न बन्दुकधारीलाई चश्मा लगाएर लामो बन्दुकसहित भवनतर्फ हिँडेको देखिएको थियो।
बन्दुकधारी लसभेगासबाट कारमा आएका थिए
न्यूयोर्क प्रहरीका आयुक्त जेसिका टिशले बन्दुकधारी नाबादा राज्यको लस भेगास निबासी २७ वर्षिय शेन टमोरा रहेको जानकारी दिइन् । टमोरा कालो बिएमडब्लु कारमा कोलोरोडा हुँदै नाब्रास्का, कोलम्बिया, न्यूजर्सी हुँदै सोमबार अपरान्ह नै न्यूयोर्क आइपुगेको देखिएको टिशले जानकारी दिए । उनका अनुसार सोमबार साँझ ६ बजेर २८ मिनेटमा पार्क एभिन्युमा कालो बिएमडब्लु कार रोकेर घटनास्थलतर्फ अघि बढेको सीसीटिभि फुटेजमा देखिएका थिए ।
भवनमा प्रवेश गरेसंगै लबिमा रहेको प्रहरी अधिकृतलाई गोली प्रहार गरी हत्या गरेको र संगै रहेका सुरक्षा गार्डलाई समेत गोली प्रहार गरी एलिभेडर चढेर भवनको ३३ औं तलामा पुगेको प्रहरी आयुक्त टिशले जानकारी दिए । ३३ औं तलामा एक महिलासहीत अर्को एकजनाको पनि हत्या गरेपछि आफैलाई छातीमा गोली प्रहार गरेको पाइएको उनले जानकारी दिए ।
बन्दुकधारीले एम फोर राइफल प्रयोग गरेको र कारमा खानतलासी गर्दा लोड गरेको अवस्थामा रिबल्वर समेत रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । बन्दुकधारीको साथमा बन्दुकको लाइसेन्स रहेको र लस भेगास प्रहरीसंगको समन्वयमा जानकारी आए अनुसार बन्दुकधारीमा मानसिक रोगको हिस्ट्री रहेको पाएको छ । यस घटनामा एकजना मात्र संलग्न रहेको र सो भवन र शहरमा त्रासको कुनै अवस्था नरहेको टिशले आश्वस्त तुल्याए । उनले बन्दुकधारीले उदेश्यले यो हत्याकाण्डा गरेको भनेर खुलिनसकेको बताए। पत्रकार सम्मेलनका क्रममा न्यूयोर्कका मेयर एरिक आडम्सले घटनाबाट आफु अत्यन्त दुखित भएको उल्लेख गर्दै न्यूयोर्कबासीको सुरक्षाको लागि आफ्नो प्रशासन निरन्तर लागि रहने बताए ।
हत्या भएका प्रहरी अधिकृत बंगलादेशी मुलका
मेयर आडम्सले शहरबासीको सुरक्षामा खटिएका प्रहरी अधिकृत दिदारुल इस्लामको हत्याले मर्माहत भएको उल्लेख गर्दै उनी नागरिक सुरक्षाको हिरो भएको बताए । उनी बंगलादेशी मुलका रहेको मेयर आडम्सले बताए । ३६ वर्षिय इस्लाम ४ बर्षदेखि एनवाइपीडीमा कार्यरत थिए । उनका दुई छोरा र श्रीमती छन्। श्रीमती ८ महिनाको गर्भवती रहेको एनवाइपीडिका आयुक्त जेसिका टिसले बताइन ।




प्रतिक्रिया