०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपाल निर्वाचित

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विहीबार भएको परिषद्को बैठकले नेपाललाई आगमी एक वर्षको लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपाल निर्वाचित


न्यूयोर्क । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपाल निर्वाचित  भएको  छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विहीबार भएको परिषद्को बैठकले नेपाललाई आगमी एक वर्षको लागि अध्यक्षमा निर्वाचित गरेको हो । बैठकमा इकोसाकका निवर्तमान अध्यक्ष तथा क्यानडाका स्थायी प्रतिनिधि बब रेले राष्ट्रसंघका लागि नेपालका स्थायी  प्रतिनिधि लोक बहादुर थापालाई अध्यक्षताको पदभार हस्तान्तरण गरेका थिए । 
इकोसक बैठकको अध्यक्षता ग्रहण गर्दै थापाले जलवायु कार्य, खाद्य सुरक्षा लगायतका प्रमुख मुद्दाहरुलाई प्राथमिकतामा राखेर परिषद्लाई सक्रिय बनाउने बताए । अध्यक्ष थापाले इकोसकको नेतृत्व निर्वाचित भएको क्षण नेपालका लागि ऐतिहासिक भएको बताउदै नेपालले बहुपक्षीयतामा पु¥याउँदै आएको दीर्घकालीन प्रतिबद्धताको प्रमाणको रुपमा यो नेतृत्व रहेको बताए । 

थापाले आफ्नो नेतृत्वको कार्यकालको मूल मन्त्र “अझ राम्रो सेवा दिने रहने बताएका छन्। यसमा साझेदारीहरू मजबुत बनाउने र बहुपक्षीयतालाई प्रोत्साहित गर्दै सन् २०३० को दिगो विकास लक्ष्यको कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको बताए । थापाले भने, “अझ राम्रो सेवा दिने विकल्प होइन, यो अनिवार्यता हो। यसैमार्फत हामी बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्न, विभाजनहरू घटाउन, कमजोर वर्गलाई सशक्त बनाउन र प्रतिबद्धतालाई व्यवहारमा उतार्न सक्छौं।”
बैठकले अगामी वर्षका लागि चार उपाध्यक्षहरू पनि चयन गरिएको जसमा अल्जेरिया, स्पेन, डोमिनिकन रिपाब्लिकन, र आर्मेनिया रहेको संयुक्त राष्ट्रसंघ सूचना केन्द्रले जनाएको छ । परिषद्का ५४ सदस्य राष्ट्र हुन्छन् । 

इकोसाक संयुक्त राष्ट्रसंघका ६ प्रमुख अंगमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय आर्थिक र सामाजिक सहयोग तथा विकास प्रवद्र्धन गर्ने जिम्मेवारी लिएको हुन्छ । यसले संयुक्त राष्ट्रका विशेषज्ञ एजेन्सी, आयोगहरू र निकायहरूलाई दिगो विकासदेखि मानव अधिकारसम्मका मुद्दाहरूमा समन्वय गर्छ। यो विश्वव्यापी सामाजिक र आर्थिक मुद्दामा छलफल, सहमति निर्माण र कार्यान्वयन प्रवद्र्धन गर्ने प्रमुख मञ्च हो।

थापाका अनुसार, संसारको विकास एजेन्डा निर्माण गर्ने केन्द्रीय निकाय हो र “कसैलाई पनि पछि नछोड्ने” लक्ष्यमा केन्द्रीत छ। थापाले यसको सफलताका लागि सबै सदस्य राष्ट्र र सरोकारवालाको सक्रिय सहभागिता र समर्पण आवश्यक रहेकोमा जोड दिए । 

तस्बिरहरुः युएन सूचना केन्द्र

प्रतिक्रिया