न्यूयोर्क । क्यालिफोर्नियाको लस एन्जलसमा आप्रावासी नीति विरुद्धमा भएको प्रदर्शन उग्र हुँदै गएपछि शहरका केही भागमा कर्फ्यु आदेश जारी गरिएको छ । पाँच दिनयता जारी प्रदर्शनका क्रममा आन्दोलन चर्किदै गएपछि बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म शहरको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।
प्रदर्शनले हिंसात्मक रुप दिएपछि लस एन्जलसका मेयर करेन बासले मंगलबार डाउनटाउन क्षेत्रका केही भागमा कर्फ्यु घोषणा गरेकी हुन्। प्रदर्शन जारी रहेसम्म कफ्र्यू पनि जारी रहेने बताईको छ । “हामी अब संकटको बिन्दुमा पुगेका छौं,“ उनले सोमबार राति २३ वटा व्यवसायमा तोडफोड भएपछि पत्रकार सम्मेलनमा स्थानीय आपतकाल घोषणा गर्दै भनिन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन लस एन्जलसमा पाँच दिनदेखि जारी छ । प्रदर्शन चर्किदै जाँदा तोडफोड र लुटपाटका घटनाहरु समेत वृद्धि हुँदै गएको भन्दै प्रहरीले चिन्ता जनाएका छन् । प्रदर्शनकारीहरूले लस एन्जलसको आप्रवासन तथा भन्सार सेवा (आइसिई) र मेट्रोपोलिटन डिटेन्सन सेन्टर आसपास प्रदर्शन गरेका थिए। उनीहरुले गाडी जलाउनेदेखि सडकमा ढुंगामुढा गरेपछि त्यस क्षेत्र आसपास राति ८ बजेदेखि बिहान ६ बजेसम्म प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
तोडफोडमा संलग्न भएको भन्दै मंगलबार २०० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शन उग्र बनेपछि लस एन्जलसमा सुरूवातमा ट्रम्प प्रशासनले नेशनल गार्ड र पछि सेना परिचालन गरेका थिए। मंगलबारदेखि भने नौसेना पनि परिचालन गरिएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अवैद्ध आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मार्न शुरु गरेपछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियाको मुख्य सहर लस एन्जलस लगायत ठाउँहरुमा विरोध जनप्रदर्शन भएको थियो। जनताले सडकमा उत्रेर ट्रम्प सरकारको आप्रवासी विरोधी नीतिको पालनामा अवरोध गरेपछि शनिबार केन्द्र सरकारले नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमसँग सल्लाह नगरिकनै ट्रम्पले सो राज्यमा नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएपछि राज्य सरकारले नै ट्रम्पको निर्णयको विरोध गरेको छ । गभर्नर न्यूसमले आफूसँग सहमति नगरी नेसनल गार्ड परिचालन गरेको भनेर ट्रम्पको कदम विरूद्ध सान फ्रान्सिस्कोमा रहेको संघीय अदालतमा मुद्दा समेत हालेका छन्।
अर्को तर्फ ट्रम्पले भने उनको काममा अवरोध गर्ने क्यालिफोर्नियाका गभर्नर न्यूसमलाई गिरफ्तार गर्नुपर्ने प्रतिक्रिया दिएर परिस्थितिलाई थप चर्काएको आरोप लगाएका छन् । ट्रम्पले नियुक्त गरेका सीमा मामिलाका प्रमुख टम होमनले कानुन पालना गर्ने काममा बाधा गरे डेमोक्र्याटिक पार्टीबाट निर्वाचित अधिकारीहरूलाई गिरफ्तार गर्ने बताएका थिए।




प्रतिक्रिया