न्यु योर्क। हार्भार्ड विश्वविद्यालयको अन्तराष्ट्रिय विद्यार्थी भिसा खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कदमलाई अदालतले अस्थायी रुपमा रोक लगाएको छ।
ट्रम्प प्रशासनको अन्तराष्ट्रिय विद्यार्थी भिसा खारेज गर्ने निर्णय विरुद्ध हाभार्ड अदालत पुगेको थियो। अदालतले अन्तिम निर्णय नभएसम्मका लागि अन्तराष्ट्रिय विद्यार्थी भिसा खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनमा अस्थायी रोक लगाएको हो। उक्त मुद्दामा न्यायाधीश एलिसन बरोजले मङ्गलबार बोस्टन फेडेरल कोर्टमा सुनवाई गर्दैछन्। बरोजलाई सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका थिए।
हार्भार्डले अन्तराष्ट्रिय विद्यार्थी भिसा खारेज भए उक्त विश्वविद्यालयको सात हजार विद्यार्थी प्रभावित हुने जनाएको छ। यो सङ्ख्या हार्भार्डको कूल विद्यार्थी सङ्ख्याको करिब एक चौथाइ हो। हाभार्डले विद्यार्थी भिसा खारेज गर्ने निर्णय अमेरिकी संविधानको फस्ट एमेण्डमेण्ड, ड्यु प्रोसिजर क्लज र एडमिनिस्ट्रेटिभ प्रोसिजर एक्ट विपरित भएको दाबी गरेको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले हार्भार्डले अन्तराष्ट्रिय विद्यार्थीको चालचलनबारे विस्तृत प्रतिवेदन नदिएको भन्दै अन्तराष्ट्रिय विद्यार्थी भिसा खारेज गर्ने निर्णय गरेको थियो। डिएचएसले हार्भार्डलाई बिहीबार त्यस्तो प्रतिवेदन उपलब्ध गराउन ७२ घण्टा समय प्रदान गरेको थियो।





प्रतिक्रिया