न्यु योर्क। देश छाड्न दिएको आदेश नमानेको भन्दै इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले एक आप्रवासी महिलालाई १८ लाख २१ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय सुनाएको छ।
होन्डुरसबाट अमेरिका आएर दुई दशकदेखि फ्लोरिडामा बसोबास गरिरहेकी मारिया नामले चिनाइएकी महिलालाई आइसले उक्त रकम फैसला जरिवाना गर्ने फैसला गरेको हो। सुरक्षाका कारण उनको पुरा नाम खुलाइएको छैन।
ती महिलालाई आइसले २००५ मा देश छाड्न आदेश दिएको थियो। तर, हाल ४१ वर्षकी उनी उक्त आदेश अटेर गर्दै अमेरिका बसोबास गरिरहेकी थिइन्। उनका तीन सन्तान अमेरिकी नागरिक छन्।
उनी २००५ को फेब्रुअरीमा क्यालिफोर्निया हुँदै अमेरिका आएकी थिइन्। आइसले तोकेको मितिमा हाजिर नभएको भन्दै त्यसको दुई महिना पछि उनलाई देश छोड्न आदेश दिएको थियो। तर, उनले देश नछाडेपछि मे ९ मा आइसले उनलाई १८ लाख २१ हजार तीन सय ५० अमेरिकी डलर जरिवाना तिर्न सूचना जारी गरेको थियो। यस हिसाबले देश छाड्न जारी गरेको आदेशदेखि जरिवाना सूचना जारी गरेको मितिसम्म ती महिलाले अमेरिका बसेबापत दैनिक करिब पाँच सय डलर जरिवाना तिर्नुपर्छ।
जरिवाना इमिग्रेसन एण्ड नेसनालिटी एक्ट अफ १९५२ अनुसार जारी गरिएको जनाइएको छ। ती महिलाले सिबिएस न्युजलाई जरिवाना तिर्न भनिएपछि सुत्न नसकेको र तनावग्रस्त बनेको प्रतिक्रिया दिएकी छन्।





प्रतिक्रिया