काठमाडौ । मार्च २८ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि भागेर भारत पुगेका प्रसाइलाई नेपाल प्रहरीको तीन साता लामो प्रयासपछि भारतको असामबाट गिराफ्तार गरेको हो । प्रसाई तीनकुनेको हिंसात्मक घटनाका मुख्य कमाण्डर हुन् । प्रसाईलाई नेपाली समय अनुसार शुक्रबार दिउसो काठमाडौ जिल्ला अदालतमा उपस्थित गराएपछि १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । यसअघि सोही घटनामा संलग्न रहेर पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई झापाको भद्रपुर विमानस्थलबाट शुक्रबार विहान काठमाडौ ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौं राखिएको थियो । अदालतका सूचना अधिकारीका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ।
व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पु¥याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।
उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले चैत १५ मा काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । जुन प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको प्रसाईंले दाबी गरेका थिए ।
तर, सो प्रदर्शन हिंसात्मक बनेसँगै पूर्वराजा विवादमा त तानिए नै उनी पनि तीनकुनेबाट स्कोर्पियो चढेर एकाएक भारत भागे । प्रसाईंले काठमाडौँबाट भाग्नका लागि प्रयोग गरेको स्कोर्पियो यसअघि नै झापामा भेटिइसकेको छ । स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए ।
फरार रहेका प्रसाईले भने पटक पटक सामाजिक संजालमा भिडियो राखेर आफु भागेर कँही नजाने र नेपालमै सुरक्षित स्थानमा लुकेर बसिरहेको भन्दै पटक पटक ढाँट्दै आएका थिए । तीन दिन अघि मात्र उनले अर्को भिडियो हाल्दै आफुलाई कानून व्यवसायी र मानवअधिकारवादीहरुको रोहबारमा पक्राउ गर्ने हो भने गिराफ्तारी दिने बताएका थिए । तर उक्त भिडियोमा उनले बोलेको ठाँउको पृष्ठभूमिभने बदलेका थिए र नेपाल मै रहेको दावी गरेका थिए ।






प्रतिक्रिया