नयाँ करले महंगी बढाउने भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ लाई ‘लिबरेसन डे’ भनेका छन्।
न्यु योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भोलि अप्रिल २, बुधबार ) देखि अमेरिका आयात हुने विदेशी उत्पादनमा नयाँ कर लगाउन सुरु गर्दैछ। त्यसमा मुख्य रुपमा विदेशमा निर्मित कार र भेनेजुएलासँग ग्यास र तेल किन्ने देश उत्पादित सामाग्री छन्।
ट्रम्प प्रशासनले यसअघि घोषणा गरेको विदेशमा निर्मित कार र भेनेजुएलासँग ग्यास र तेल किन्ने देश उत्पादित सामाग्रीमा २५ प्रतिशत आयात कर अप्रिल २ देखि कार्यान्वयन हुनेछ। यससँगै अमेरिकामा कारको मूल्य अकासिने छ भने ग्यासको भाउ पनि बढ्नेछ। किनभने अमेरिका आफैँ भेनेजुएलाबाट तेल र ग्यास किन्ने राष्ट्र हो।
नयाँ आयात कर लागु भए सँगै अमेरिकामा एउटा कारको मूल्य औसत १२ हजार डलरले वृद्धि हुने अपेक्षा गरिएको छ। कार र भेनेजुएलासँग ग्यास तथा तेल किन्ने देश उत्पादित सामाग्रीमा लगाइने आयात करबाट मात्र एक सय अर्ब डलर राजश्व उठाउने अपेक्षा गरिएको छ।
अमेरिकाले गत फेब्रुअरी ४ देखि नै चिनिँया सामाग्रीमा १० प्रतिशत आयात कर लगाएको थियो। त्यसलाई मार्च ४ देखि २० प्रतिशत पुर्याइएको थियो। प्रतिक्रियामा चीनले अमेरिका उत्पादित कोइला र प्राकृतिक ग्यास सहितका सामाग्रीमा १५ प्रतिशत कर लगाइदिएको थियो। त्यस्तै चीनले अमेरिका उत्पादित कच्चा तेलमा १० प्रतिशत कर लगाइदिएको थियो। साथै, चीनले अमेरिकाको प्रमुख कृषिजन्य उत्पादनमा समेत १५ प्रतिशत कर लगाइदिएको छ।
ट्रम्प प्रशासनले गत महिना विदेशी स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउन सुरु गरेको छ। ट्रम्प प्रशासनले क्यानडा र मेक्सिकोमा लगाइएका यी कर भने तत्कालका लागि स्थगन गरेको छ। ट्रम्प प्रशासनले निकट भविष्यमा थप आयात कर लगाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया