न्यू योर्क। न्यू योर्क सिटी मेयरको प्राइमरी (प्राथमिक) निर्वाचनमा मतदान गर्न चाहने न्यू योर्क सिटीवासीका लागि मतदाता विवरण अद्यावधिक गर्ने समय फेब्रुअरी १४ सम्म तोकिएको छ।
मेयर पदको चुनावी अभियानमा हालसम्म डेमोक्रेटिक उम्मेदवारमात्रै देखिएकाले प्राइमरी निर्वाचनमा डेमोक्रेटिकले मात्र मतदान गर्न पाउने सम्भावना बढ्दै गएको छ। अन्य पार्टीका तर्फबाट मेयर पदमा उम्मेद्वारी नपरे डेमोक्रेटिक बाहेकका न्यू योर्क सिटीका मतदाताले प्राइमरीमा मतदान गर्न पाउने छैनन्। यस्तो अवस्थामा मतदाताको अत्याधिक सङ्ख्या सुनिश्चित गर्न विवरण अद्यावधिक गर्ने समय फेब्रुअरी १४, २०२५ सम्म तोकिएको हो।
आफू बस्ने सहरको नीति तथा कार्यक्रम तय गर्ने निकायका प्रमुख छान्ने यो अवसरमा सहभागी हुन चाहने मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्छ। त्यसमा आफू दर्ता भएको पार्टी, नाम, ठेगाना लगायतका विवरण पर्छन्। अन्य ठाउँबाट यू योर्क सिटीभित्र वा न्यू योर्क सिटीकै एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गरेपनि मतदाता नामावलीमा ती विवरण अद्यावधिक गर्नुपर्छ।
मेयर पदका लागि जुन २०२५ मा प्राथमिक निर्वाचन हुँदैछ। मतदाता नामावलीमा बसाइँसराइ र पार्टीको विवरण अद्यावधिक नगर्ने मतदाताले यो निर्वाचनमा भाग लिन पाउने छैनन्। त्यसमा ‘स्वतन्त्र’ मतदाताका रुपमा दर्ता भएका न्यू योर्क सिटीवासी समेत पर्छन्।





प्रतिक्रिया