न्यूयोर्क । क्यानाडाली प्रधानमन्त्री ज्यसटिन ट्रुडोले सीमा सुरक्षामा विषेश योजनासहीत सहयोग गर्ने प्रतिबद्धता जनाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको लागि घोषणा गरेको व्यापारिक कर एक महिनाका लागि स्थगित भएको छ ।
राष्ट्रपति ट्रम्पले उत्तर र दक्षिणतर्फका छिमेकी मुलुकहरु क्यानाडा र मेक्सिकोमाथि फेब्रुअरी ४ बाट २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि दुबै छिमेकी देशका सरकार प्रमुखहरुसंगको वार्तापछि तत्काललाई अनपेक्षित करको बोझबाट राहत पाएको हो । क्यानाडाली प्रधानमन्त्री ट्रुडोले सोमबार दुईपटक राष्ट्रपति ट्रम्पसंग टेलिफोन वार्ता गरेका थिए । यसअघि सोमबार नै मेक्सिकाका राष्ट्रपति क्लाउडिया शिनबाउमले पनि ट्रम्पसँग कुराकानी गरी घोषित कर तत्काललाई स्थगन गर्न सफल भएका थिए ।
क्यानाडाली प्रधानमन्त्री ज्यसटिन ट्रुडोले सोमबार दुई पटकको फोन वार्तापछि सिमाना सुरक्षा प्याकेज लागू गर्ने प्रतिबद्धता जनाएका थिए । यसक्रममा क्यानाडाले लागुऔषध फेन्टानिल नियन्त्रणको लागि एक विशिष्ट अधिकारी नियुक्त गर्ने र केही पहिले घोषणा गरिएका सीमा सुरक्षाका पहलहरूलाई कार्यान्वयन गर्ने समावेश छन् । यो सहमतिसंगै ट्रम्पको कर घोषणा योजना ३० दिनको लागि स्थगित भएको छ । राष्ट्रपति ट्रम्पले सोशल मिडिया ट्रुथ सोशलमार्फत यो सहमतिप्रति खुशी व्यक्त गरेका छन् ।
यसैवीच चीनलाई १० प्रतिशत आयात कर लगाउने घोषणा मंगलबारबाट शुरु भएको छ । ट्रम्पको यो घोषणाको विरोधमा चीनले पनि विभिन्न ८ वटा बस्तुहरुमा १० देखि १५ प्रतिशतसम्म कर लगाउने घोषणा गर्दै चीनले अमेरिकी नीतिको प्रतिवाद गरेको छ । मंगलबारबाट लागु हुने गरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका सबै उत्पादनमाथि १० प्रतिशतको कर लागू गरेपछि, बीजिङले अमेरिकाका कोइला, ग्याँस र अन्य वस्तुहरूको लागि थप करको घोषणा गरेको हो । चीनसंगको यो व्यापार युद्धका कारण महँगाइ बढाउने र विश्व अर्थतन्त्रलाई नोक्सान पुर्याउने आशंका गरिएको छ । व्यापार युद्धलाई चर्काउन नदिन दुई देशका नेतावीच तत्काल वार्ता हुनुपर्ने अर्थविद्हरुले सुझाएका छन् । ट्रम्पले चीनलाई फेन्टानिलविरुद्ध पर्याप्त कदम नचालेको आरोप लगाएका छन् र उनले करलाई कूटनीतिक दबाबको साधनको रूपमा प्रयोग गर्ने इच्छा देखाएका छन्।





प्रतिक्रिया