न्यूयोर्क । २८६१ औं सोनाम ल्होछारको अवसरमा अमेरिकाको न्यूयोर्कमा ल्होछार कार्यक्रम भव्यपूर्वक सम्पन्न भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा फेब्रुअरी १ मा क्वीन्सको उडसाइडस्थित टिबेटिन कम्युनिटी सेन्टरमा भएको ल्होछार कार्यक्रम लामा गुरुहरुद्धारा सामुहिक पूजापाठ तथा ताम्बाद्धारा सेरगेम गरि शुरु भएको थियो । ल्होछार कार्यक्रमको समुदायका जेष्ठ सदस्यद्धय ८६ वर्षिया मिना साङबो लामा र ७८ वर्षिय ज्ञानबहादुर लामा, एसेम्बली मेम्बर स्टेफन रागा र सोसाइटीका अध्यक्ष बुद्धिमान तामाङले सामुहिक रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै एसेम्बली मेम्बर रागाले ल्होछारको उपलक्ष्यमा तामाङ समुदायलाई शुभकामना दिदै समुदायसंग मिलेर काम गर्न आफु सधैं इच्छिुक रहेको बताए । सोसाइटीका बरिष्ठ उपाध्यक्ष चिना योन्जनले कार्यक्रममा आमन्त्रित सबैलाई स्वागत गर्दै सदियौंदेखि राज्यको दमन सहेर भएपनि विकसित हुँदै आएको तामाङ संस्कार संस्कृतिलाई भावी पुस्तालाई पनि जानकारी दिने उदेश्यले यो कार्यक्रम मनाउने गरेको बताए । सोसाइटीका महासचिव सम्शेर योन्जनले संचालन गरेको कार्यक्रममा अध्यक्ष बुद्धिमान तामाङले अमेरिकामा तामाङ समुदायको संस्थालाई आजको अवस्था सम्म ल्याउन अग्रजहरुको महत्वपूर्ण भुमिका रहेको बताए । उनले तामाङ समुदायको महान पर्व सोनाम ल्होछारलाई अमेरिकी भुमिमा भव्यताकासाथ मनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।
आौपचारिक कार्यक्रमपछि लोकप्रिय कलाकारहरुले आकर्षक नृत्य तथा चर्चित गीत प्रस्तुत गरेर ल्होछार माहौललाई थप रौनकता दिएका थिए । नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफीमा प्रस्तुत तामाङ बालबालिकाको आकार्षक सेलो नृत्यहरुबाट शुरु भएको सांगीतिक माहौललाई लोकप्रिय कलाकारहरु सुबानी मोक्तान, निर्मला घिसिङ र शशीकला मोक्तानको गीतहरुले सहभागीहरुलाई छमछमी नाच्न बाध्य तुल्याएको थियो । सुबानी मोक्तानको गीतमा हौसिएर नाच्न व्यस्त दर्शकहरु “स्याची होई, स्याची होई” गीतलाई तीनपटक सम्म “वान्स मोर” गरेर पनि नाच्दा थाकेका थिएनन् ।
।






प्रतिक्रिया