न्यूयोर्क । विपन्न चेपाङ समुदायका बालकालिकाको शैक्षिक विकासको लागि न्यू योर्कको लङ आइल्याण्डमा बस्ने नेपाली समुदायले आर्थिक सहयोग प्रदान गरेको छ । “शिक्षाको लागि भिक्षा” भन्ने नारासहित धादिङमा आयोजना भएको सप्ताहव्यापी श्रीमद्भागवत महायज्ञको अवसरमा न्यू योर्क लङ आइल्याण्डका नेपाली समुदायद्धारा संकलित ५ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
लङ आइल्याण्डका नेपाली समुदायको संस्था कोअर्डिनेसन कमिटी अफ नेपाली कम्युनिटी (सीसीएनसी) युएसएको संयोजनमा संकलित सो रकम सो संस्थाका अगुवा समाजसेवी वेदप्रसाद खरेलले महायज्ञका आयोजकलाई हस्तान्तरण गरेका छन् । महायज्ञमा संकलित रकमलाई विपन्न चेपाङ समुदायका विद्यार्थीहरूको शैक्षिक विकासका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी वेदप्रसाद खरेलले विपन्न समुदायका बालबालिकाको शैक्षिक विकासको लागि आर्थिक संकलन अभियानमा जोडिएका सीसीएनसी युएसएका सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे । उनले प्रवासी नेपालीको एकताले यस्ता परोपकारी कार्यलाई अझ सशक्त बनाउन सकिने बताउदै विपन्न समुदायको उत्थानका लागि आगमी दिनमा अन्य क्षेत्रहरुमा पनि सहयोग गर्न तत्पर रहेको जानकारी दिए । सो अवसरमा समाजसेवी होमनाथ थपलियाले प्रवासवाट सहयोगी एवं परोपकारी व्यक्तिहरूले आफूहरूको अभियानमा खुला मनले सहयोग गरेको देखेर थप उत्साह जागेको बताए।
सीसीएनसीको तर्फबाट सहयोग संकलन अभियानमा धादिङमा जन्मिएर हाल लङ आईल्यान्ड बस्दै आएका समाजसेवी निर्मल थपलियाको विशेष सक्रियता रहेको सीसीएनसीले जनाएको छ । यसैगरी सीसीएनसीका अध्यक्ष बाबुराम शर्मा, महासचिव शंकर भण्डारी, तथा अन्य सदस्यहरुले समेत यस अभियान सफल पार्न भूमिका खेलेको सो संस्थाले जनाएको छ । सीसीएनसी युएसएले नेपालमा विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।
धादिङका दुर्गम क्षेत्रमा अध्ययनरत चेपाङ विद्यार्थीहरू आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महायज्ञमार्फत आर्थिक संकलन अभियान सञ्चालन गरिएको महायज्ञ आयोजकले जनाएको छ । महायज्ञ माघ १७ देखि २३ गते सम्म संचालन भएको थियो ।





प्रतिक्रिया