न्यूयोर्क । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थल नजिकै गएराती भएको विमान दुर्घटनामा यात्रुबहाक जहाज र हेलिकप्टरमा रहेका सबै ६७ जनाकै मृत्यु भएको उद्धार अधिकारीहरुले जनाएका छन् । उद्धारका क्रममा हालसम्म २८ जनाको शव फेला परेको र अन्यपनि जिवित नरहेको उनीहरुले बताएका हुन् ।
वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकप्टर गएराती आकाशमै ठोकिएर दुर्घटना भएको हो । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्गमा अवतरण हुनै लाग्द ३ सैनिक बोकेको हेलिकप्टरसँग ठोकिएको थियो ।
अवतरणको तयारीमा रहेको विमान हेलिकप्टरसँग ठोकिएपछि आकाशमै आगलागी भएर पोटोम्याक नदीमा खसेको थियो । विमान दुई टुक्रा परेको र नदीमा खसेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । सैनिक तालिमका लागि प्रयोग भएको सेनाको ब्ल्याक हक हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ । अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाको समयमा कुनै पनि असामान्य अवस्था देखिएको छैन । रातीको समय भएपनि आकाश सफा रहेको र मार्गहरू सामान्य अवस्थामै रहेको अधिकारीहरुको भनाई छ ।
दुर्घटना बारेमा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आर्मी हेलिकप्टरका कारण यो दुर्घटना भएको बताए । यद्यपि हालसम्म यस घटनाको कुनै आधिकारिक कारण पत्ता लागेको भने छैन ।




प्रतिक्रिया