न्यू योर्क। पूर्व राष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लु बुस राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको पदभार ग्रहण कार्यक्रमको दिवा भोजमा उपस्थित नहुने भएका छन्। तर, उनीहरु ट्रम्पको शपथ ग्रहण कार्यक्रममा भने उपस्थित हुने भएका छन्।
सीबीएस न्युजका अनुसार ओबामा, क्लिन्टन र बुस ट्रम्पको दिवा भोजमा उपस्थित हुने छैनन्। तर, दिवा भोज अघि राखिएको शपथ ग्रहण कार्यक्रममा भने उनीहरु उपस्थित हुनेछन्। त्यस्तै पूर्व सेक्रेटरी अफ स्टेट तथा पूर्व प्रथम महिला हिलारी क्लिन्टन पनि उक्त दिवा भोजमा उपस्थित नहुने सीबीएस न्युजले जनाएको छ। जबकी उनी सपथ ग्रहण कार्यक्रममा भने उपस्थित हुनेछिन्।
पूर्व प्रथम महिला मिसेल ओबामा मात्र ट्रम्पको शपथ ग्रहण कार्यक्रममा समेत अनुपस्थित हुने समाचारमा उल्लेख छ। तर, त्यसको कारण खुलाइएको छैन।
दिवा भोज जीवित पूर्व राष्ट्रपतिहरू भेला हुने र नयाँ राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिने एकमात्र कार्यक्रममा हो। दिवा भोज १८९७ देखि सुरु भएको परम्परा हो। तात्कालिक सिनेट कमिटीले तत्कालीन राष्ट्रपति विलियम म्याककिन्लीलाई दिवा भोज दिएर यो परम्परा सुरु गरेको थियो।
ट्रम्पले २०२१ मा राष्ट्रपति जो बाइडेन दिवा भोजको निम्तो अस्वीकार गरेर यो परम्परा तोडेका थिए। यी तीनै जीवित पूर्व राष्ट्रपतिहरूले ट्रम्पको समर्थन गरेका थिएनन्। ओबामा र क्लिन्टनले ट्रम्पका प्रतिद्वन्दी कमला ह्यारिसको निर्वाचन अभियानलाई सघाएका थिए।




प्रतिक्रिया