न्यू योर्क । दक्षिण कोरियाको दक्षिणपश्चिमी शहरस्थित म्युआन विमानस्थलमा भएको विमान दुर्घटनामा १२५ भन्दा बढी यात्रुको मृत्यु भएको छ । ६ चालकदलका सदस्यसहीत १८१ जना चढेको विमान दुर्घटनामा २ जना मात्र जिवित फेला परेकाले मृत्यु हुने यात्रुको संख्या बढ्न सक्ने उद्धारमा संलग्न अग्नी नियन्त्रण विभागले जनाएको छ ।
थाइल्याण्डको बैंककबाट उडेको बोइङ ७३७ – ८०० कल साइनको जेजी यएरको यात्रुबहाक विमान स्थानीय समय अनुसार विहान करिब ९ बजेतिर दुर्घटना भएको हो । विमानस्थलमा अवतरणका क्रममा रहेको सो विमान धावानमार्गबाट बाहिर गएर ठूलो पर्खालमा ठोक्किएर आगो लागेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उड्यान अधिकाररुहरुले विमान अवतरणका क्रममा ल्याण्डिङ गेयरले काम नगर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरेका छन् । विमानस्थलको धावानमार्ग छोटो भएकोले दुर्घटना भएको भन्ने भनाईको भने त्यहाँका उड्यान मन्त्रालयले खण्डन गरेको छ ।
विमानमा सवार १७५ जना यात्रु मध्ये २ जना थाई नागरिक रहेको थाइल्याण्ड सरकारले जनाएको बिबिसीले उल्लेख गरेको छ । अन्य सबै यात्रु दक्षिण कोरियाकै नागरिकहरु रहेको बताइएको छ । स्थानीय समय अनुसार अपराह्न ३ बजेसम्म राष्ट्रिय अग्नि एजेन्सीले कम्तीमा १२५ जनाको मृत्यु पुष्टि गरेको छ । अधिकारीहरूले जलेको स्थानमा शवहरूको खोजी जारी राखेको बताइएको छ । दुर्घटनामा जीवित रहेका दुई जना चालक दलका सदस्यहरू रहेका छन् । उद्धार गरिएकामा एक पुरुष र एक महिला रहेको र उनीहरुलाई तत्काल उपचारको लागि लगिएको बताइएको छ ।
दक्षिण कोरियाका स्थानीय टेलिभिजनहरुमा प्रसारण भएको भिडियो फुटेजमा दुर्घटनाग्रस्त विमानबाट कालो र गाढा धुवाँ उठिरहेको देखिएको थियो । दुर्घटना लगतै १५ सय भन्दा बढी उद्धारकर्ताहरु खटाएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
विमान रनवेबाट बाहिर गई पर्खाललाई ठक्कर दिएपछि विमान टुक्रा भएको र आगो फैलिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अधिकारीहरूले ल्यान्डिङ गियरको असफलताले दुर्घटना हुन सक्ने आशंका गरेका छन् ।
जेजी एयर दक्षिण कोरियाको एक प्रमुख कम लागतको एयरलाइन हो, जसलाई २००५ मा एक प्रमुख कम्पनी र दक्षिण कोरियाको जेजू टापुका प्रान्तीय सरकार बीचको संयुक्त उद्यमका रूपमा स्थापना गरिएको थियो । यो दुर्घटना दक्षिण कोरियाको उड्यान इतिहासमा सन् १९९७ पछि पहिलो पटक भएको हो । १९९७ मा भएको दुर्घटनामा कोरियन एयर फ्लाइट सोलबाट गुआम जाने क्रममा पहाडमा ठोक्किँदा २५४ जनामध्ये २२८ जनाको ज्यान गएको थियो





प्रतिक्रिया