०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अधिकारले अक्टोबर २७ मा मतदाता शिक्षा कार्यक्रम गर्ने

सिटी काउन्सिल पनि मेयर आडम्सको प्रस्ताव विरुद्ध मतदाता शिक्षा कार्यक्रम गर्दै
अधिकारले अक्टोबर २७ मा मतदाता शिक्षा कार्यक्रम गर्ने

न्यू योर्क। नेपाली भाषी समुदायको सामाजिक न्यायका लागि सङ्घर्षरत संस्था अधिकारले पहिलो पटक मत दिन लागेका नेपाली अमेरिकी नागरिकका लागि मतदाता शिक्षा आयोजना गर्ने भएको छ। 

अधिकारले अक्टोबर २७ मा उडसाइडस्थित आफ्नै कार्यालयमा मतदाता शिक्षा दिन लागेको हो। यो कार्यक्रम दिउँसो साढे बजे सुरु हुँदैछ। अधिकारकी पोलिसी मेनेजर छिरिङ लामाले अधिकारले एक दशकभन्दा लामो समयदेखिगेट आउट टु भोट (गिओटिभी)’ कार्यक्रम सञ्चालन गरी मतदाता शिक्षा दिँदै आएको बताइन्।हामी हरेक निर्वाचनमा मतदातालाई शिक्षा दिन कार्यक्रम गछौं,’ उनले भनिन्, ‘नयाँ मतदाता आफ्नो मताधिकार प्रयोग गर्न सक्षम बनून् भन्ने हाम्रो उद्देश्य हो।

नोभेम्बर मा हुने निर्वाचनबाट राष्ट्रपति, उपराष्ट्रपति, कङ्ग्रेसका सदस्य तथा राज्यका विधायक निर्वाचित हुने छन्। त्यही भएर अधिकारले यो निर्वाचनलाई महत्वपूर्ण रुपमा हेरेको छ। अधिकारले मतदाता शिक्षा कार्यक्रम मार्फत पहिलो पटक मतदानका लागि योग्य बनेका नेपाली अमेरिकी मतदातालाई मतदान कसरी गर्ने तथा आफ्नो मतदानस्थल कसरी थाह पाउने भन्ने लगायतका जानकारी दिन्छ। मताधिकार प्रयोग गरी आफ्नो समुदायको हित गर्ने जनप्रतिनिधि छान्न सकून् भनेर अधिकारले सयौँ नेपाली अमेरिकीको मतदाता नामावली दर्ता गरिदिएको छ।  

सिटी काउन्सिल पनि मेयर आडम्सको प्रस्ताव विरुद्ध मतदाता शिक्षा कार्यक्रम गर्दै

यसैबीच न्यू योर्क सिटी काउन्सिलले पनि अक्टोबर २८ मा मतदाता शिक्षा कार्यक्रम आयोजना गर्ने भएको छ। सिटी काउन्सिलले मेयर एरिक आडम्सले न्यू योर्क सिटी चार्टर संविधान परिवर्तन गर्न हतारमा ल्याएको पाँच प्रस्ताव (ब्याटल मेजर्स) ले सर्वसाधारणलाई अप्ठ्यारो पार्ने भन्दै मतदाता शिक्षा कार्यक्रम आयोजना गर्न लागेको हो। सिटी काउन्सिल कम्युनिटी इङ्गेजमेन्ट डिभिजन डाइरेक्टर डेनियल पोर्कारोले मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन अनुरोध गरेकी छन्। उनले आफ्नो समुदायलाई मेयर आडम्सको प्रस्तावले पार्ने असर बारे आफ्नो समुदायलाई सामाजिक सञ्जाल मार्फत जानकारी दिन भन्दै पोस्टर, पर्चा लगायतका सामाग्री वितरण गरिरहेकी छन्।

सिटी काउन्सिलको मतदाता शिक्षा जुम मार्फत बिहान ११ बजे सुरु हुनेछ। त्यसका लागि काउन्सिलले जुम लिंक शेयर गरेको छ। साथै, जुममा सहभागी हुन नसक्ने मतदाताले खाली समयमा हेर्न सकून् भनेर रेकर्ड गरिएको सामाग्री आफ्नो वेवसाइटमा राख्ने भएको छ। सिटी काउन्सिलले त्यसको पनि लिंक उपलब्ध गराएको छ। 

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा छवटा प्रस्ताव छन्। पहिलो प्रस्ताव न्यू योर्क राज्यका लागि हो। प्रस्ताव मेयर आडम्सले न्यू योर्क सिटीको मूल कानून संशोधन गर्न थपेका हुन्। राष्ट्रपतिलाई मत दिइसकेपछि मतदाताले मतपत्र पल्टाउनु पर्नेछ। त्यसमा यी प्रस्ताव उल्लेख छन्। मतदाताले ती प्रस्तावमायसवानोचिन्ह लगाउनु पर्नेछ।

न्यू योर्क सिटी, न्यू योर्क स्टेट, फेडेरल स्तरका ४३ जनप्रतिनिधिले मेयर एरिक आड्म्सको प्रस्ताव मानोमा चिन्ह लगाउन आह्वान गरेका छन्। त्यस्तै, वर्किङ फेमिलिज पार्टी सहित सामाजिक न्यायका लागि संघर्षरत न्यू योर्क सिटीका ५३ सामाजिक संघ संस्थाले मेयर आडम्सको प्रस्ताव विरुद्ध संघर्ष गरिरहेका छन्। 

के  मेयरको प्रस्तावमा?

प्रस्ताव नम्बर २ मा उल्लेख छ, ‘‘सार्वजनिक सम्पतिको सफाइः यो प्रस्तावले सडक तथा सिटीका अन्य सम्पति सफा गर्ने तथा फोहरलाई कन्टेनरमा व्यवस्थापन गर्ने डिपार्टमेन्ट अफ सेनिटेसनको अधिकारमा बिस्तार तथा प्रष्टता ल्याउन सिटी चार्टरमा संशोधन गर्छ।’’

उक्त प्रस्तावबारे सिटी काउन्सिलले भनेको छ, ‘सडक व्यापारीमाथि कडाइ गर्छ, फोहोर फाल्ने भाँडो राख्ने स्थान तय गर्ने थप अधिकार दिन्छ र सरसफाइमा सर्वसाधारणको भूमिका बेवास्ता गर्छ।’ इमिग्रेसन रिसर्च इनिसियटिभ (आइआरआई) ले सेप्टेम्बर तस्रो साता सार्वजनिक गरेको अध्ययन अनुसार हाल न्यू योर्क सिटीमा २३ हजार सडक व्यापारी छन्। त्यसमध्ये ९६ प्रतिशत आप्रवासी छन् भने ७५ प्रतिशतले सडक व्यापार अनुमति पाएका छ्रैनन्। आइआरआईले अध्ययन प्रतिवेदनबारे राखेको छलफल कार्यक्रममा सहभागीहरुले मेयर आडम्सको यो प्रस्ताव सडक व्यापारीलाई थप जरिवाना तिराउन र थप दुःख दिन ल्याइएको धारणा राखेका थिए। 

अधिकारवादी संघसंस्थाहरु यो प्रस्ताव भ्रमपूर्ण रहेको तथा सडक व्यापारी र अरु न्यू योर्कवासी माथिको अमानवीय आक्रमण भएको बताउँछन्। उनीहरु यो प्रस्तावले सहयोगको आवश्यकतामा रहेका सडक व्यापारी तथा न्यू योर्क सिटीवासीलाई अपराधीकरण गर्ने धारणा राख्छन्। 

प्रस्ताव नम्बर ३ मा ‘‘प्रस्तावित कानूनको लागतको थप अनुमान र बजेट म्याद अद्यावधिकः यो प्रस्तावले कानूनको सुनुवाइ र मतदान अघि काउन्सिलबाट वित्तीय विश्लेषण अनिवार्य गर्न, मेयरबाट वित्तीय विश्लेषण स्वीकृत गर्न र बजेटको म्याद अद्यावधिक गर्न सिटी र्चाटरमा संशोधन गर्छ।’’ सिटी काउन्सिलले यो प्रस्तावले काम गर्ने समय बढाएर कर्मचारीतन्त्रको आकार ठूलो बनाउने, करदातामा आर्थिक भार वृद्धि गर्ने, समस्या समाधान गर्ने क्षमता घटाउने र बजेट पारित गर्ने अन्तिम मिति (डेडलाइन) मा ढिलाइ गर्ने उल्लेख गरेको छ। ‘बजेटमा ढिलाइ भए सर्वसाधारण र निरीक्षण गर्ने निकायहरुले मेयरले प्रस्ताव गरेको बजेट (उदाहरणका लागि पुस्तकालयको बजेट कटौति) बारे समीक्षा गर्न कम समय पाउँछन्।’

वर्किङ फेमिली पार्टी सहित गठबन्धनमा रहेका ५३ सङ्घसंस्थाले यो प्रस्तावले मेयर र उनका सहयोगीहरुलाई मन नपर्ने कानून रोक्न र प्रभावित पार्न नयाँ बाटाहरु खोलिदिने बताएका छन्। निर्वाचनमा यो प्रस्तावले बहुमत पाए मेयर र उनका सहयोगीहरुले उनीहरुलाई मन नपर्ने चाइल्ड केयर तथा आवास सहायता (हाउजिङ एसिस्टेन्स) जस्ता लोकप्रिय कार्यक्रमको सार्वजनिक रुपमा विरोध नगरि कर्मचारीतन्त्र प्रयोग गरेर रोक्न सक्ने उनीहरुको भनाइ छ।

प्रस्ताव नम्बर ४ मा उल्लेख छ, ‘‘सार्वजनिक कानूनमा मतदान गर्नु अघि थप सूचना र समयः यो प्रस्तावले प्रहरी (एनवाइपिडी), करेक्सन (डिपार्टमेन्ट अफ करेक्सन्स) र फायर डिपार्टमेन्टको सार्वजनिक सुरक्षा सञ्चालन सम्बन्धी कानूनमा सिटी काउन्सिलले मतदान गर्नु अघि अतिरिक्त सार्वजनिक सूचना र समयको व्यवस्था गर्छ।’’ सिटी काउन्सिलले यो प्रस्तावले न्यू योर्कवासीको सार्वजनिक सुरक्षा सम्बन्धी कानून पारित गर्ने प्रक्रियामा अत्याधिक ब्युरोक्रेटिक झमेला र मेयरको हस्तक्षेप थप्ने जनाएको छ। काउन्सिलले यो प्रस्तावले सार्वजनिक सुरक्षासम्बन्धी कानून पारित गर्न ढिलाइ गर्ने, जवाफदेहीता घटाउने र अत्यावश्यक काम रोक्ने वेबसाइटमा उल्लेख गरेको छ। 

गठबन्धनमा रहेका संघ संस्थाले प्रहरीसँग सम्बन्धित यी निकायमा मात्र किन यस्तो प्रस्ताव गरिएको भन्दै मेयर आडम्सको नियतमाथि प्रश्न गरेका छन्। उनीहरुले यो प्रस्तावले सुरक्षासँग सम्बन्धित यी तीन निकायलाई पारदर्शी र जवाफदेही नबन्न विशेष अधिकार दिएको भन्दै विरोध गरेका छन्।   

प्रस्ताव नम्बर ५ मा,  ‘‘पूँजी योजनाः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरी सिटीका सुविधाहरुमा वार्षिक मुल्यांकन गर्नुपर्ने, ती सुविधाहरुले वाध्यकारी रुपमा पूँजी योजनाको जानकारी दिनुपर्ने र पुँजी योजना अद्यावधिक गर्नुपर्ने ब्यबस्था गर्छ,’’ उल्लेख छ। सिटी काउन्सिलले मेयरको यो प्रस्तावलाई ‘अर्थहीन’ र ‘भ्रामक’ भनेको छ। 

मेयर आडम्सले उक्त प्रस्ताव सिटी कम्प्ट्रोलर (सहरको सबैभन्दा माथिल्लो आर्थिक कार्यकारी) को सिफारिसका आधारमा बनाइएको दावी गरेको थियो। त्यसपछि कम्प्ट्रोलरको कार्यालय त्यो दावी झुठो भएको र ‘‘एउटा अर्थहीन मापनलाई विश्वासनीयता दिलाउन प्रष्ट रुपमा गरिएको झुटो प्रयास’’ भन्दै विज्ञप्ति जारी गरेको छ। ‘यो प्रस्ताव कुनै पनि तरिकाबाट सिटीको पूँजी योजना प्रक्रिया सुधार गर्न असफल छ,’ कम्प्ट्रोलर कार्यालयको वेबसाइटमा उल्लेख छ। 

प्रस्ताव नम्बर ६ मा उल्लेख छ, ‘‘अल्पसंख्यक र महिला स्वामित्वको उद्यम ब्यबसाय, फिल्म परमिट र आर्काइभ रिभ्यू बोर्डः यो प्रस्तावले सिटी चार्टरमा संशोधन गरि चिफ बिजिनेस डाइभर्सिटी अफिसर (सिबिडिओ) नियुक्त गर्नेछ, मेयरलाई फिल्म परमिट अनुमति दिने कार्यालय तोक्ने अधिकार दिनेछ र आर्काइभ बोर्डलाई एकत्रित गर्नेछ।’’ मेयरको आडम्सको यो प्रस्तावलाई सिटी काउन्सिलले एक आपसमा असम्बन्धित विषयमा परिवर्तन गर्न खोजी अधिकार लिन खोजेको जनाएको छ। 

गठबन्धन संस्थाहरुले आपसमा कुनै सम्बन्ध नरहेको तीन वटा विषय÷संरचना जोडिएको र त्यसमध्ये एउटाले मात्र मेयरको कार्यालयको भूमिका धेरै उल्लेख गरेको जनाएको छ। उनीहरुले यो प्रस्तावले अल्पसंख्यक तथा महिला स्वामित्वको उद्यम व्यवसायमा थप ठोस सहयोग नगरि परिवर्तनको भ्रम सिर्जना गरेको उल्लेख गरेका छन्। 

सिटी काउन्सिलले बितरण गरेको मेयर आडम्सको प्रस्ताव सम्बन्धी विवरणः

प्रतिक्रिया