न्युयोर्क । नेपाली भाषी समुदायका विभिन्न सरोकारका क्षेत्रमा क्रियाशील संस्था अधिकारले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आइतबार सामुहिक टीका जमरा कार्यक्रमको आयोजना गरेको छ । न्यूयोर्कको उडसाइडमा आयोजना गरिएको दशैं कार्यक्रममा न्यूयोर्कसिटीमा बस्ने नेपालीहरुले टीका जमरा ग्रहण गर्नुकासाथै नाचगान र नेपाली परिकारकासाथमा रमाइलो गरेका थिए ।
सामुहिक टीका जमरा कार्यक्रममा चार सय भन्दा बढी सहभागी भएको अधिकारका सह निर्देशक नर्वदा क्षेत्रीले जानकारी दिए। नेपालमा गएर परिवारसंग दशैं मनाउन नसकेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सामूहिक टीक जमरा कार्यक्रममा उपस्थित भएर एकदम खुशी भएको सह निर्देशक क्षेत्रीले बताए । नेपाली समुदायका सदस्यहरु स्वतःस्फुर्त रुपमा दशैं कार्यक्रममा सहभागी भएको बताउदै आफ्नो मान्यजनबाट दशैंमा टीका थाप्न नपाएका कतिपय नेपालीहरु टीका जमरा ग्रहण गर्न पाउदा निकै भाबुक समेत बनेको सह निर्देशक क्षेत्रीले सुनाए । उनले कार्यक्रममा सहभागी हुन आएका पाहुनाहरुलाई टीका लगाइदिदै जमरा र फलफूल प्रसादको रुपमा दिएका थिए ।
कार्यक्रममा सहभागीहरु नेपाली परिकारहरुको स्वाद लिनुकासाथै विभिन्न नेपाली गीतहरुमा नाच्दै रमाइरहेका थिए । दिउसो १२ बजेबाट शुरु भएको टीका जमरा कार्यक्रम चारबजेसम्म संचालन भएको थियो ।








प्रतिक्रिया