न्यू योर्क। अमेरिका–इजरायल र इरानबीचको युद्ध दुई हप्ता नजिक पुग्दा झन् जटिल बनेको छ। फेब्रुअरी २८ मा सुरु भएको यो युद्धमा हालसम्म करिब २,००० जनाको ज्यान गएको छ। धेरै मृत्यु इरानमा भएका छन्। लेबनन, खाडी क्षेत्र र अमेरिकी पक्षमा पनि क्षति पुगेको छ।
अमेरिकी गुप्तचर मूल्यांकनअनुसार इरान सरकार तत्काल ढल्ने अवस्थामा छैन। इरानी नेतृत्व अझै धेरै हदसम्म कायम छ र राज्य संरचना चलिरहेकै छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले समेत सरकार ढलिहाल्ने निश्चितता नरहेको स्वीकार गरेका छन्।
यसबीच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनोले युद्ध जारी राख्ने राख्ने चेतावनी दिएका छन्। उता रोयटर्सका अनुसार रूस र चाइनाले इरानलाई कूटनीतिक समर्थन, अमेरिकाको निन्दा र संयुक्त राष्ट्रसंघमा इरानको राजनीतिक बचाउ गरेका छन्। तर उनीहरू प्रत्यक्ष सैन्य सहयोग वा युद्धमा प्रवेशबाट टाढा छन। कम्तिमा प्रत्यक्ष सैन्य सहयोग वा युद्धमा प्रवेश गरेको प्रमाण सार्वजनिक रूपमा देखिएको छैन। क्रेमलिनले इरानले हतियारसमेत नमागेको जनाएको छ।
अमेरिकाले भने रुसले इरानलाई अमेरिकी सेनाको अवस्थितिबारे भू-उपग्रह र गुप्तचर सूचना दिएको आरोप लगाएको छ। उक्त आरोप मस्कोले अस्वीकार गरेको छ। तर, इरानको आक्रमणका कारण युद्धमा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको र करिब १५० घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश भने मिश्रित छ। उनले एकातिर अमेरिका इरानमाथि “आउँदो एक हप्ता धेरै कडा” प्रहार गर्ने बताएका छन्। अर्कोतिर ह्वाइट हाउस भित्र युद्धलाई कहिले र कसरी “जित” घोषणा गरेर टुंग्याउने भन्ने बहस चलिरहेको रोयटर्सले जनाएको छ। त्यसैले ट्रम्प तत्काल शान्ति वार्तातिर गएका छैनन्। तर उनी लामो युद्धमा फस्न पनि नचाहेको देखिन्छ।
युद्धको सबैभन्दा ठूलो असर अहिले तेल र सामुन्द्री मार्गमा परेको छ। स्ट्रेट अफ होर्मुज हुँदै विश्वको करिब पाँचौं हिस्सा तेल निर्यात हुन्छ। इरानले स्ट्रेट अफ होर्मुजमा पानी जहाजहरूलाई निशाना बनाएको छ, जसले तेल बजार तातेको छ। कच्चा तेल (ब्रेन्ट क्रुड ) करिब ९९.५० डलर प्रति ब्यारेल पुगेको छ, जुन युद्ध सुरु भएयता झन्डै ४० प्रतिशतले बढी हो।
इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने चेतावानी दिएको छ। तर इरानले होर्मुजमा माइन बिछ्याइसकेको दाबी भने अझ पुष्टि भएको छैन।
खाडी देशहरू पनि दबाबमा छन्। यूएईले इरानले छिमेकी देशमाथि आक्रमण रोकेपछि मात्र मध्यस्थता सम्भव हुने बताएको छ। यूएईले ट्रम्प अन्ततः कूटनीतिक निष्कर्षतिर जान सक्ने विश्वास व्यक्त गरेको छ। तर, अहिले क्षेत्रीय तनाव कम भएको छैन।





प्रतिक्रिया