०९ भदौ २०८३, मङ्गलबार
Tue, Aug 25, 2026
SUBSCRIPTION

सुम्निमा साँझ-१५ "भव्यताका साथ" सम्पन्न सम्पन्न

सुम्निमा साँझ-१५ "भव्यताका साथ" सम्पन्न सम्पन्न

न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले सुम्निमा साँझ १५ "भव्यताका साथ" सम्पन्न भएको जनाएको छ।

केआरएसए न्यूयोर्क च्याप्टरले यस वर्षआफ्नो वार्षिक सांस्कृतिक कार्यक्रम ‘सुम्निमा साँझ–१५’ यही डिसेम्बर २४ (क्रिसमस इभ) मा आयोजना गरेको थियो। कार्यक्रममा चर्चित गायिका सत्यकला राई र द भ्वाइस किड्स नेपाल पहिलो सिजनकी फाइनलिस्ट बालगायिका रुक्सना लिम्बूले प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिमा सहभागीहरू झुमेका थिए।

रुक्सनाले स्टेजमा प्रस्तुति दिँदा गायिका सत्यकला फ्लोरमा सहभागीसँगै झुमेकी थिइन्। उनीसँगै चर्चित नृत्य निर्देशक गोविन्द राई, र गायिका बसन्ती राई पनि नाचेका थिए। सत्यकला आफ्नो प्रस्तुतिमा समेत स्टेज छाडेर फ्लोरमा झरेकी थिइन्। उनले सहभागीसँगै गाउँदै नाचेकी थिइन्। 

चर्चित कोरियोग्राफर तथा नृत्य प्रशिक्षक विजय नकर्मीले किरात समुदायका युवा पुस्ता तथा बालबालिकालाई स्टेजमा उतारेका थिए। उनीहरूले परम्परागत राई भेषभुषा र गरगहनामा साकेला लगायतका किरात राई सांस्कृतिक तथा नेपाली नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, बालबालिकाको हौसला बढाउन १२ वर्ष मुनिका बालबालिकालाई र्याम्पमा उतारिएको थियो। त्यहाँ उनीहरूले आफ्नो परिचय दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि न्यू योर्कका लागि नेपाली वाणिज्यदूत दधिराम भण्डारीले सुम्निमा साँझ हरेक वर्ष १५ औं संस्करणसम्म निरन्तर आयोजना गरेर प्रवासमा नेपाल र किरात राई समुदायको संस्कार संस्कृति जोगाइराख्न सफल भएकोमा बधाइ तथा शुभकामना दिएका थिए। "प्रवासमा बसिरहँदा साकेला उँधौली र सुम्निमा साँझ जस्ता कार्यक्रमले हामी को हौँ र कहाँबाट आएका हौँ भनेर दोस्रो नयाँ पुस्तालाई बुझाउन र प्रकृतिप्रति कृतज्ञ रहन सिकाउँछ," उनले भने। 

कार्यक्रममा विशेष अतिथि डिस्ट्रिक्ट ३० प्रतिनिधित्व गर्ने न्यू योर्क स्टेट एसेम्बली मेम्बर स्टिभन रागाले न्यू योर्क सिटी विविधतायुक्त भएको उल्लेख गर्दै त्यसमा किरात राई समुदाय महत्वपूर्ण हिस्सा भएको बताएका थिए। "तपाईँहरूको यो कार्यक्रममा सहभागी हुन पाउँदा गौरव महशुश गरिरहेको छु," उनले भने, "यो कार्यक्रममा सहभागी हुन म मेरो पारिवारिक कार्यक्रम छोट्याएर आएको छु। तपाइँहरुसँग म छुट्टिन सक्दिनँ।" 

कार्यक्रममा केआरएसए न्यू योर्क च्याप्टरकी उपाध्यक्ष खुशी राईले स्वागत मन्तव्य दिएकी थिइन्। विशेष अतिथिद्वय नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) का वरिष्ठ उपाध्यक्ष पेमा लामा र केआरएसए केन्द्रिय कार्यसमिति अध्यक्ष भारती राईले साकेला उँधौली पर्वको शुभकामना दिएका थिए। उनीहरूले न्यू योर्कको नेपाली समुदायमा केआरएसएले नेपाली तथा राई संस्कार संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भुमिको खेल्दै आएको स्मरण गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि रागा र लामा लगायतलाई खादा ओडाएर र राईहरुको पगरी गुथाएर सम्मान गरिएको थियो। कार्यक्रमको औपचारिक खण्ड केआरएसए न्यू योर्क च्याप्टरका निवर्तमान सचिव बिजय राईले सञ्चालन गरेका थिए। औपचारिक खण्डको समापन च्याप्टर अध्यक्ष शम्भू राईले गरेका थिए। कार्यक्रमको सांस्कृतिक तथा मनोरञ्जनात्मक खण्ड यशोधा राई र रोसमान राईले सञ्चालन गरेका थिए। त्यसपछि डिजे राजा (राजेन्द्र राई) ले डान्स पार्टी सञ्चालन गरेका थिए। 

केआरएसएले किरात राई समुदायको महान् चाड साकेला उँधौलीको अवसर पारेर सुम्निमा साँझ प्रत्येक वर्ष आयोजना गर्दै आएको छ। कोभिड–१९ महामारीका कारण केही वर्ष भने कार्यक्रम हुन सकेको थिएन।
केआरएसए अमेरिकामा किरात राई भाषा, संस्कार, संस्कृति र भेषभूषा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था हो। संस्थाले वर्षभरि विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रम आयोजना गर्दै आएको छ, जसअन्तर्गत सुम्निमा साँझलाई प्रमुख प्लेटफर्मका रूपमा लिइन्छ।


साकेला वर्षमा दुई पटक मनाइने परम्परा छ९ उँधौली र उँभौली। जाडो छल्न लेकतिरबाट बेँसी झर्दा मनाइने साकेलालाई उँधौली, र गर्मी सुरु भएपछि लेकतर्फ उक्लँदा मनाइने साकेलालाई उँभौली भनिन्छ। साकेला नृत्यले किरात राई समुदायको उत्पत्ति, श्रम, प्रकृति–पूजा र जीवनशैलीसँग जोडिएको कथा प्रस्तुत गर्ने विश्वास गरिन्छ।

 

 

प्रतिक्रिया