न्यू योर्क । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने दोस्रो पुस्ताका नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गरिरहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रको नवौं वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।
आइताबार न्यूयोर्क सिटीको क्वीन्सस्थित फरेष्ट पार्कमा भएको कार्यक्रममा नेपाली भाषा कक्षामा गएको वर्ष विभिन्न तहमा दिक्षित भएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली भाषा पाठशालाका स्वयंसेवक शिक्षक शिक्षिका, विद्यार्थी बालबालिका तथा ठूलो संख्यामा अविभावकको उपस्थितिमा भएको कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सरल नेपाली भाषा तथा संस्कृति केन्द्रका अध्यक्ष पद्मा लिंखामगरले प्रतिकुल मौसमकावीच पनि नेपाली भाषा अध्ययन गर्ने बालबालिका र अविभावकहरु ठूलो संख्यामा उपस्थित हुँदा आफुहरु उत्साहित भएको बताए । बालबालिकाहरुलाई आफ्नो मातृ भाषा सिकाउनका लागि धेरै गुरुबा र गुरुआमाहरुले स्वयंसेवी रुपमा प्रतिबद्ध भएर योगदान गर्दा अहिलेको सफलता मिलेको बताए । यसैगरी अविभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा सिकाउनका लागि प्रेरित गराएकोले नै यो संभव भएको अध्यक्ष लिंखामगरको भनाई थियो ।

यसैगरी केन्द्रका बोर्ड सदस्य जानुका वस्ती ढकालले नेपाली भाषा स्कुलमा अध्ययन गर्ने बालबालिकाहरुले नेपाली अक्षर पढ्न र लेख्न जान्ने हुँदा अत्यन्त खुशी लागेको बताए । स्कुलमा अध्ययन गर्ने विद्यार्थीले नेपालमा आफ्ना हजुरबुबा हजुरमुमाहरुलाई अंग्रेजीका शब्दहरुको नेपालीमा उल्था गरेर समेत कुरा गर्न सक्नुले अझ प्रोत्सहान मिलेको बताए ।
सो अवसरमा अविभावकहरुले समेत अंग्रेजीमात्र बोल्ने आफ्ना बालबालिकाले पाठशालामा सिकेपछि नेपाली भाषा बोल्न र लेख्न सकेको भन्दै नेपाली स्कुलको प्रशंसा गरेका थिए । नेपाली भाषा सिकेपछि विषेश गरेर नेपालमा आफ्नो आफन्तहरुसंग कुरा गर्दा बालबालिकाहरुले नेपाली भाषामा नै कुरा गर्न सक्ने हुँदा आफन्तहरुमा समेत खुशी छाएको अनुभव उनीहरुले सुनाएका थिए ।

शिक्षिका एवं केन्द्रका उपाध्यक्ष यशोधा राईले विद्यार्थीहरुले आफ्नो साप्ताहिक विदाको दिनको उपयोग गरेर स्कुलमा अध्ययन गरी मेहनत गरेकै कारण धेरै नेपाली बालबालिकाहरु मातृभाषाको अध्ययन गर्न सफल भएको भन्दै यस कार्यका लागि अविभावकहरु पनि धन्यवादको पात्रा भएको बताए । आफ्ना मातृभाषाको अध्ययनको लागि न्यूयोर्कको मात्र नभएर न्यूजर्सी कनिक्टकेट, पेन्सिलभेनिया लगायतका राज्यहरुबाट समेत बालबालिकाहरु सहभागि भएको जानकारी दिदै आगमी दिनमा यसलाई अझ विस्तार गर्दै लगिने जानकारी दिए ।
सो अवसरमा नेपाली भाषा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नेपाली भाषामा मन्तव्य व्यक्त गर्नुकासार्थ विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका अवसरमा सिटी काउन्सिलको तर्फबाट प्राप्त शैक्षिक सामाग्रि समेत बालबालिकाहरुलाई वितरण गरेको थियो । केन्द्रले संचालन गरेको नेपाली भाषा पाठशालामा विद्यार्थीहरूले अनलाईनमा हप्ताको एक दिन निस्शुल्क अध्ययन गर्न पाउँछन्। यसवर्षको नयाँ कक्षा भने सेम्टेम्बरको दोस्रो साताको आइतबारबाट शुरु हुँदैछ ।















प्रतिक्रिया