न्यू योर्क। तीन अमेरिकी राज्य वेस्ट भर्जिनिया, साउथ डाकोटा र अर्कान्ससले आप्रवासन कानून कार्यान्वयनमा तीव्रता दिन इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस) सँग नयाँ सम्झौता गरेका छन्।
वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले आइससँग हालसम्मकै विस्तृत सम्झौता भएको घोषणा गरेका छन्। वेस्ट भर्जिनिया र आइसबीच भएको २८७ (जी) सम्झौता अनुसार त्यहाँको प्रहरी, कारागार विभाग र नेशनल गार्डले कागजात नभएका आप्रवासीलाई आइससँग मिलेर पक्राउ, सोधपुछ, प्रमाण संकलन र हिरासतमा लिन सक्ने छन्। अधिकारीहरूले शङ्का लागेका कागजात विहीन आप्रवासीलाई वारेन्ट बिना नै पक्राउ गर्न, पक्राउ पुर्जी जारी गर्न र सङ्घीय निकायलाई हस्तान्तरण गर्न सक्नेछन्। मोरिसीले लागू औषध फेन्टानिल सङ्कटलाई कारण देखाउँदै वेस्ट भर्जिनियालाई “प्रभावकारी सीमावर्ती राज्य”बनाउने भनेका छन्।
साउथ डाकोटा गभर्नर लेरी रोडेनले “अपरेशन प्रेरी थन्डर” सुरु गरेका छन्, जसले विशेषगरी सिउ फल्स क्षेत्रमा लागू औषध, गिरोह र अवैध आप्रवासनलाई लक्षित गर्नेछ। सम्झौता अनुसार हाइवे पेट्रोलले कागजात नभएका आप्रवासी पक्राउमा सहयोग गर्ने, नेशनल गार्डले प्रशोधन कार्य गर्ने र कारागार विभागले जेलमा रहेका अवैध आप्रवासी पहिचान गरी आइसलाई हस्तान्तरण गर्नेछ।
अर्कान्सस गभर्नर साराह हकाबी स्यान्डर्सले “डिफेन्स अगेंस्ट क्रिमिनल इलिगल्स एक्ट” लागू गरेकी छन्। यसले हिंसात्मक गम्भीर अपराध गर्ने अवैध आप्रवासीलाई थप कडा सजाय दिने लक्ष्य राखेको छ। साथै कानुन कार्यान्वयन निकायलाई २८७ (जी) अधिकारका लागि आवेदन दिन अनुमति दिनेछ। त्यो भनेको वेस्ट भर्जिनियामा जस्तै प्रहरी, कारागार विभाग र नेशनल गार्डले कागजात नभएका आप्रवासीलाई आइससँग मिलेर पक्राउ गर्ने, सोधपुछ, प्रमाण सङ्कलन र हिरासतमा लिने अधिकार हो। साथै, शङ्का लागेका कागजात विहीन आप्रवासीलाई वारेन्ट बिना नै पक्राउ गर्न, पक्राउ पुर्जी जारी गर्न र सङ्घीय निकायलाई हस्तान्तरण गर्न सक्ने पाउने अधिकार हो। त्यस अन्तर्गत अर्कान्सासका राज्य प्रहरीले सडकमा चेकजाँचको क्रममा आप्रवासन स्थिति जाँच गर्नेछ र तालिम प्राप्त अधिकारीहरूले पक्राउ पुर्जी जारी गर्न र उल्लङ्घनकर्तालाई पक्राउ गर्न सक्नेछन्। स्यान्डर्सले सीमापार सुरक्षा प्राथमिकता दिनेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई श्रेय दिएकी छन्।
यसअघि फ्लोरिडा र वायोमिङले आइससँग सहकार्य गर्न २८७ (जी) सम्झौता गरेका थिए।




प्रतिक्रिया