०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

उबर/लिफ्ट को भाडा बृद्धि, ‘लकआउट’ विरुद्ध कडा नियम अनुमोदन

टिएलसीको बुधबार जुन २५ मा भएको बैठकले फर हायर भेकल (उबर÷लिफ्ट)सेवाको बारेमा यस्तो निर्णय गरेको हो । बैठकमा, टिएलसीले एप–आधारित “लकआउट” रोक्नका लागि नयाँ नियमहरू समेत निर्धारण गरेको छ । जसका कारण हजारौं चालक प्रभावित भएका थिए।
उबर/लिफ्ट को भाडा बृद्धि, ‘लकआउट’ विरुद्ध कडा नियम अनुमोदन

 

न्यूयोर्क । न्यूयोर्क सिटीको ट्याक्सी र लिमोजिन आयोग (टीएलसी)ले उबर र लिफ्टका चालकहरूका लागि न्यूनतम पारिश्रमिक ५% ले बढाउने र चालकहरूलाई प्रभावित गर्ने “लकआउट” रोक्न नयाँ नियमहरू पारित गरेको छ।
टिएलसीको बुधबार जुन २५ मा भएको बैठकले फर हायर भेकल (उबर÷लिफ्ट)सेवाको बारेमा यस्तो निर्णय गरेको हो । बैठकमा, टिएलसीले एप–आधारित “लकआउट” रोक्नका लागि नयाँ नियमहरू समेत निर्धारण गरेको छ । जसका कारण हजारौं चालक प्रभावित भएका थिए। नयाँ नियमहरू अनुसार, अगस्ट १ देखि लागू हुने गरी कम्पनीहरूले चालकलाई कम्तिमा ७२ घण्टा अगाडि सूचना दिनुपर्नेछ र शिफ्ट सुरु भएपछि चालकलाई १६ घण्टासम्म एपमा लगइन रहन दिनुपर्नेछ, केही विशेष परिस्थितिहरू बाहेक।

यो कदम न्यूयोर्क ट्याक्सी वर्कर्स अलायन्स (NYTWA)ले चलाएको एकवर्षे अभियानपछि लिइएको हो । अलायन्सले उबर र लिफ्ट कम्पनीहरूले “लकआउट” प्रयोग गरी व्यस्त दर बढाएको र चालकको पारिश्रमिक घटाएको दावी गर्दै आन्दोलन गरेको थियो । “नयाँ नियमहरू उबर र लिफ्टका चालकहरूका लागि जीत हो, जसले लकआउटबाट चालकको आय र सम्मानमाथिको प्रहार अन्त्य गर्छ,” अलायन्सकी कार्यकारी निर्देशक भारवी देसाईले भनिन्।

अलायन्सका अनुसार, चालकहरूले लकआउटका कारण २५% सम्म आम्दानी गुमाएका थिए र कम्पनीहरूले उपयोग दर कृत्रिम रूपमा बढाई सन् २०२५ को पारिश्रमिक नीति प्रभावित गरेका थिए। अलायन्सले यसका विरुद्ध सन् २०२४ मा विरोध प्रदर्शन र अभियानहरू सञ्चालन गरेको थियो।

चालक पारिश्रमिक वृद्धिको सिफारिस अर्थशास्त्री डा. जेम्स पारोटले गरेका थिए, जसलाई त्ीऋ ले खर्च मोडेल अद्यावधिक गर्न अनुरोध गरेको थियो। पारोटको सन् २०२४ डिसेम्बरको रिपोर्ट अनुसार विद्युतीय सवारी साधन र भाडासँग सम्बन्धित खर्चलाई समेट्न प्रति माइल ६.१% वृद्धि आवश्यक रहेको सिफारिस गरेको थियो । तर विभिन्न अध्ययनपछि टिएलसीले ५% वृद्धिको निर्णय गर्यो, जुन पारोटको सिफारिसभन्दा थोरै कम हो, तर चालक लकआउटविरुद्ध कडा नियमहरू समेत पारित गरिएकोले यो निर्णयलाई सकारात्मक रुपमा लिइएको छ । 
तर, उबर र लिफ्ट जस्ता कम्पनीहरुले भने यो निर्णयमा सकारात्मक प्रतिक्रिया दिएका छैनन् । लिफ्टका प्रवक्ताले भने, “यो नियम चालकहरूलाई फाइदाजनक हुनेमा अझै शंका छ। यसले चालकको आम्दानीका अवसरलाई घटाउन, यात्रुका लागि खर्च बढाउन र सवारीको उपलब्धता कम गर्न सक्छ ।”

प्रतिक्रिया