न्यु योर्क। पछिल्लो समय इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) ले बालबालिमाथि निगारानी बढाएको छ। उनीहरुले खासगरी अमेरिका—मेक्सिको सीमाबाट बिना बाबु आमा अमेरिका प्रवेश गरेका बालबालिकामाथि निगरानी बढाएको हो।
द गार्डियनका अनुसार डिएसएसले बाबु आमा नभएका ती बालबालिका सुरक्षित रहेको, उनीहरूको शोषण र दुरुपयोग नभएको सुनिश्चित गर्न सुरक्षाकर्मीहरूले ‘वेलफेयर चेक्स’ गरेको जनाएको छ। तर, यो कदमबाट उनीहरु डिपोर्टेसनको जोखिममा परेको र उनीहरूलाई स्पन्सर (प्रायोजन) गर्ने मानिसहरूमा आपराधिक कारवाही हुने जोखिम बढेको द गार्डियनले जनाएको छ।
नेशनल इमिग्रेसन एडभोकेसी प्रोजेक्ट नामक आप्रवासीको पैरवी गर्ने ‘एडभोकेसी ग्रुप’ ले सार्वजनिक गरेको आइसको आन्तरिक कागजातका अनुसार एक्लै अमेरिका प्रवेश गरेका बालबालिका र उनीहरूलाई अमेरिकामा स्पन्सर गर्ने मानिसमाथि आप्रवासन कानून कार्यान्वयन गर्न र आपराधिक अभियोजनका लागि आइसले निगरानी गरेको हो।
रोयटर्सले गत फेब्रुअरीमा ट्रम्प प्रशासनले बाबु आमा बिना अमेरिका प्रवेश गरेरका सयौँ हजार बालबालिका डिपोर्ट गर्न सुरक्षा निकाय परिचालित गरिरहेको भन्ने पुष्टि गर्ने आइसको आन्तरिक मेमो पढेको समाचार प्रकाशन गरेको थियो। ट्रम्प प्रशासनले पछिल्लो समय आप्रवासनमा कानूनी सहायता प्रदान गर्ने सरकारी बजेट कटौती गरेको छ। यसबाट बाबु आमा बिना अमेरिका प्रवेश गरेका बालबालिकाको आप्रवासन प्रक्रियामा चुनौति थपिएको छ। अदालतले यस्तो बजेट कटौती नगर्न हस्तक्षेप गरेको थियो।





प्रतिक्रिया