०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

अमेरिकी सहयोगलाई निरन्तरता दिलाउन अमेरिका बस्ने नेपाली अगुवाहरुलाई पहल गरिदिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

युएस एडको सहयोग अन्तर्गत पोषण कार्यक्रम, विभिन्न रोग विरुद्धको खोप अभियान जस्ता कार्यक्रमहरु संचालन भइरहेकोमा अनुदान रोकिएसंगै ती कार्यक्रमहरु पनि रोकिएकोले स्वास्थ्य क्षेत्रमा नै समस्या परेको मन्त्री पौडेलले बताए ।
अमेरिकी सहयोगलाई निरन्तरता दिलाउन अमेरिका बस्ने नेपाली अगुवाहरुलाई पहल गरिदिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह


न्यू योर्क । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अमेरिकी सरकारले युएस एडमार्फत प्रदान गर्दै आएको अनुदान रोकिदा नेपालको स्वास्थ्य क्षेत्र समेत प्रभावित भएको बताउदै अमेरिकी सहयोगलाई पुनः निरन्तरता दिन अमेरिकामा रहेका नेपाली अगुवाहरुले पहल गरिदिन आग्रह गरेका छन् । युएस एडको सहयोग अन्तर्गत पोषण कार्यक्रम, विभिन्न रोग विरुद्धको खोप अभियान जस्ता कार्यक्रमहरु संचालन भइरहेकोमा अनुदान रोकिएसंगै ती कार्यक्रमहरु पनि रोकिएकोले स्वास्थ्य क्षेत्रमा नै समस्या परेको मन्त्री पौडेलले बताए । 


संयुक्त राष्ट्रसंघको जनसंख्या कार्यक्रमको बैठकमा सहभागी हुन न्यू योर्क आइपुगेका मन्त्री पौडलले अप्रिल ८ मा नेपाली जनसंपर्क समिति अमेरिकाले गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो आग्रह गरेका हुन् । “युएस एडको सहयोगमा स्वास्थ्य मन्त्रालय अन्तर्गत भएका कार्यक्रमहरुबाट सरोकारवालाहरुले लाभ लिइरहेका छन्, ती सेवाहरु यतिबेला प्रभावित भएको छ । अमेरिकाको सहयोगलाई निरन्तरताको लागि अमेरिकामा बसोबास गर्ने तपाईहरुले लबिङ गर्नुहुन म आग्रह गर्दछु, मन्त्री पौडेलले भने । नेपालबाट आएर एकदिन भेटेर मात्र यस्ता सहयोगलाई निरन्तरता गराउन नसिकिने उल्लेख गर्दै मन्त्री पौडेलले यही बस्ने नेपालीबाट पहल भएको प्रभावकारी हुन सक्ने उनले बताए । स्वास्थ्य क्षेत्रमा सहयोगको लागि अमेरिकी सरकारसंगै अन्य फाउन्डेसनहरु समेत इच्छुक हुने भएकोले त्यसतर्फ पनि पहल हुन सके अझ राम्रो हुने पौडेलको भनाई थियो । 


मन्त्री पौडेलले स्वास्थ्य उपचारमा नागरिकको पहुँच विस्तारको उदेश्यले स्वास्थ्य बीमा शुरु गरेको भएपनि बिमाको भुक्तानी दिन नसक्दा स्वास्थ्य बीमा कार्यक्रम रोकिन लागेको जानकारी दिए । बीमाको भुक्तानी १६ अर्ब भन्दा बढी छ, तर सरकारले बजेट छुट्याउने बेलामा ७ अर्ब ५० करोड रुपैयाँ मात्र बिनियोजन भएको छ, जसका कारण बीमा भुत्तानी हुन नसक्दा बीमाप्रति नै नागरिकमा नैरश्यता आएको उनले बताए । बिभिन्न आन्तरिक श्रोतबाट जुटाएर १ खर्ब रुपैयाँसम्मको बीमा कोष बनाउन सके भने मात्र बीमा सुबिधा उपलब्ध हुन सक्ने भएकोले यसको लागि विभिन्न योजनाहरुको बिकल्पमा कार्यक्रम तयारी भइरहेको मन्त्री पौडेलको भनाई थियो । 


नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चर्चा गर्दै मन्त्री पौडेलले नयाँ संबिधानले अंगालेका प्रावधानहरु पूर्ण कार्यान्वयनमा नआउदै संविधान ठीक छैन भन्नु सही नभएको बताए । नेपालमा फेरी व्यक्तिको शासन ल्याउने कुरा जनताले कुनै हालतमा स्वीकार्न नसकिने बताउदै संघीयतालाई मजबुत बनाउने, सुशासन र पारदर्शिता शासन संचालन गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिए । यहि उदेश्यको लागि संसदको दुई ठूला दलहरु मिलेर सरकार निर्माण गरेकोले यतिबेला यही दीशामा सरकारले काम गरिरहेको उनले दावी गरे । संघीयताको बिकल्प खोज्ने भन्दा पनि आर्थिक हिसाबले बोझिलो छ भने बोझ कम गर्ने बिकल्पहरुमा जान सकिने उनले बताए । 
गैर आवसीय नेपाली नागरिकताको प्रसंग उल्लेख गर्दै मन्त्री पौडेलले संविधानले निश्चित गरिसकेको अधिकार हासिल हुने निश्चित रहेको बताए । हिजोको सरकार र अहिलेको सरकारले दिएन भने भोली आउने सरकारले पनि दिन सक्छ, एनआरएनलाई अधिकार दिने कुरा नेपालको आर्थिक विकासको लागि पनि हो, मन्त्री पौडेलले भने । बरु एनआरएन कै अभियान एक जुट हुन नसकेको चर्चा गर्दै विवाद र गुठमा विभाजित हुनुभन्दा एकिकृत भएमा नेपालमा समेत यसबाट सकारात्मक सन्देश जाने उनले बताए । 

कार्यक्रममा वरिष्ठ संचारकर्मी एवं कवि डा. नवराज लम्सालले नेपालमा जता ततै निराशा मात्र छ भन्ने भाश्यलाई बदलेर आशा जगाउने वातवरण सबैले बनाउनु पर्ने बताए । युवा पिँडीहरुमा अझ बढी निराशा देखिने गरेको बताउदै लेखन र साहित्यको माध्यमबाट पनि आशा उत्साह जगाउने सिर्जनाहरु ल्याउनु पर्ने लम्सालले बताए । 

नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले विदेशमा बस्ने नेपालीहरुले पनि संधै आफ्नो मातृभूमिको हित चहाने गरेको बताउदै संविधानले दिएको अधिकार सुनिश्चित गरेर विदेशमा बस्ने नेपालीहरुलाई मातृभूमिप्रति अझ बढी जिम्मेवार बनाउन सक्नु पर्ने बताए । नेपालका दुर्गम क्षेत्रहरुमा अझै पनि स्वास्थ्य र अन्य विकासका पूर्वाधारहरु अभाव भएकोले वर्तमान सरकारले दुर्गत क्षेत्रमा बढी ध्यान दिनुपर्नेमा बिष्टको जोड थियो ।

यसैगरी प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले संविधानले सुनिश्चित गरेको अधिकार सहीतको नागरिकताको लागि गैर आवसीय नेपालीहरुले लगतार रुपमा आवाज उठाउदा पनि सरकारले बेवास्थ गर्दै आएको चर्चा गर्दै संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारबाट पनि विदेशमा बस्ने नेपालीहरुको आवज नसुन्नु बिडम्बना भएको गुनासो गरे । प्रमुख भनिएका दलहरुबाट समेत गैर आवसीय नेपालीहरुप्रति यसप्रकारको व्यवहार देखाएमा २०८४ सालको निर्वाचनमा फरक दल रोज्न बाध्य हुने चेतावनी दिए । 
कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष तोरण गुरुङ, नेपाली समुदायका अगुवा बेदप्रसाद खरेल लगायतले गैर आवसीय नेपाली नागरिकताको सवाल र नेपालका समसामयिक राजनीतिको अवस्थाको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया