न्यू योर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले अंग्रेजीलाई अमेरिकाको आधिकारिक भाषा निर्धारण गर्ने कार्यकारी आदेश जारी गरेका छन् । सो आदेशमा हस्ताक्षर भएको ह्वाइट हाउसले शनिबार जनाएको हो ।
द्विभाषिक शिक्षा नीति र आप्रवासी समुदायको भाषाहरुलाई समेत राज्यस्तरमा मान्यता पाइरहेको अमेरिकामा राष्ट्रपति ट्रम्पको यो घोषणाले आगामी दिनमा द्विभाषिक नीतिमा कस्तो असर पर्ने हो भन्ने चिन्ता भने छाएको छ । यो आदेशले संघीय कार्यक्रमहरूमा कुनै परिवर्तनको आवश्यकता राख्दैन । अमेरिकामा कतिपय समूहहरुले “अंग्रेजी मात्र” आन्दोलन चलाउदै आएका थिए । उनीहरुका लागि भने यो खुशीको खबर बनेको छ ।
“अंग्रेजीलाई आधिकारिक भाषा बनाउँदा केवल सञ्चारलाई सरल बनाउने मात्र होइन, साझा राष्ट्रिय मूल्यहरूलाई सुदृढ बनाउनेछ र एक अधिक समृद्ध र प्रभावकारी समाज सिर्जना गर्नेछ,” आदेशमा भनिएको छ। यो कार्यकारी आदेशले क्लिन्टन कालको एक म्यान्डेट रद्द गर्छ जसले संघीय अनुदान प्राप्त गर्ने निकायहरूलाई र गैर–अंग्रेजी बोल्ने व्यक्तिहरूलाई भाषा सहायता प्रदान गर्न बाध्य बनाएको थियो । तथ्याँकहरुका अनुसार अमेरिकामा ७५ प्रतिशतभन्दा बढी अमेरिकनले घरमा अंग्रेजी भाषा मात्र बोल्छन् । यसैगरी अमेरिकामा करिब ४ करोड २० लाखले स्पेनी भाषा बोल्छन् भने ३० लाखले चिनियाँ भाषा बोल्ने गरेका छन्। तर अमेरिकाकै प्युटो रिकोमा भने ९५ प्रतिशत अमेरिकनले स्पेनिस भाषा बोल्ने गर्दछन् ।
“अमेरिका पहिलो” वाचा पुरा गर्न विभिन्न निर्णयहरु गर्दै आएका ट्रम्पको यो निर्णयलाई पनि धेरैले आप्रवासन विरोधी नीतिकै रुपमा हेरेका छन् । भाषाको बारेमा जारी भएको यो आदेशको भाषिक अधिकारका अभियन्तहरुले भने विरोध जनाएका न्युयोर्क टाइम्सले उल्लेख गरेका छन् । “राष्ट्रपतिको आदेशले अंग्रेजीलाई केवल आधिकारिक भाषा बनाउने दृष्टिकोण प्यूर्टो रिकन पहिचानसँग टकराउँछ,” प्यूर्टो रिको निवासी पाब्लो जोस हर्नान्डेज रिवेराले भने । प्यूर्टो रिकनहरूले कहिल्यै हाम्रो पहिचानलाई समर्पण गर्ने छैन ।” उनले भनेका छन् ।




प्रतिक्रिया