न्यू योर्क। फेडेरल एजेन्सीहरू (फेड्स) ले आज बिहान सबेरै देखि (जनवरी २८, २०२५) न्यू योर्क सिटीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मास डिपोर्टेसन’ कार्यान्वयन गर्न ‘मेजर अपरेसन’ सुरु गरेका छन्। त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड (डीएसएस) सेक्रेटरी क्रिस्टि नोम आफैँ न्यू योर्क सिटी आइपुगेकी छन्।
(फोटो क्रेडिटः डीएसएस सेक्रेटरी क्रिस्टि नोमको एक्स एकाउन्ट)
उनले सामाजिक सञ्जाल एक्समा बिहान ६ः१३ मा ब्रोङ्क्सबाट एकजना गिरफ्तार गरेको भिडियो समेत पोस्ट गरेकी छन्। त्यसका लागि इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) लाई धन्यवाद दिँदै उनले एक्समा लेखेकी छन्, ‘अपहरण, आक्रमण र चोरीमा संलग्न क्रिमिनल एलियनलाई हिरासतमा लिएका छौँ।’
त्यसको दुई घण्टा अघि एक्समा फेड्स परिचालित भएको फोटोसहित गरेको अर्को पोस्टमा उनले भनेकी छन्, ‘हामी ठीक गरिरहेका छौँ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई सडक सुरक्षित राख्न जे बाचा गर्नु भएको थियो हामी ठ्याक्कै त्यही गरिरहेका छौँ।’ साथै, अर्को पोस्टमा उनले ‘क्रिमिनल एलियन’ पक्राऊ गरेको भन्दै फेड्स( डीएसएस, आइस, ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन, युएस मार्शल्स सर्भिस) लाई धन्यवाद दिएकी छन्।

उनले आज बिहान ‘केही क्रिमिनल एलियन्स’ पक्राउ गर्न सहयोग गरेको भन्दै न्यू योर्क सिटी पुलिस (एनवाइपीडी) लाई समेत धन्यवाद दिएकी छन्। तर, कति जना पक्राऊ गरिएको हो भन्ने खुलाएकी छैनन्। सेक्रेटरीका हैसियतले नोम डीएसएसको सबैभन्दा उच्च नेतृत्व हुन्। यसअघि उनी साउथ डकोटाकी गभर्नर थिइन्।
आइसले जनवरी २७ मा एक हजार एक सय ७९ लाई गिरफ्तार गरेको थियो। त्यसमध्ये आठ सय ५३ लाई हिरासतमा लिएको थियो। त्यस्तै, आइसले जनवरी २६ मा गिरफ्तार गरेका नौ सय ५६ मध्ये पाँच सय ५४ लाई हिरासतमा लिएको थियो।






प्रतिक्रिया