०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

म्यानहटन शहरको मुट्टुमा एकाबिहानै हेल्थकेयरका सिईओको गोली हानी हत्या

अज्ञात व्यक्तिद्धारा प्रहार गरिएको गोली लागेर बुधवार बिहान पौने सात बजेतिर ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका व्यक्ति युनाइटेड हेल्थकेयरका सिईओ ५० वर्षीय ब्रायन थम्पसन भएको प्रहरीले जानकारी दिएका छन् ।
म्यानहटन शहरको मुट्टुमा एकाबिहानै हेल्थकेयरका सिईओको गोली हानी हत्या

 

न्यूयोर्क । म्यानहटन शहरको मुट्टु मानिने मिडटाउनको एक होटल नजिक एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । अज्ञात व्यक्तिद्धारा प्रहार गरिएको गोली लागेर बुधवार बिहान पौने सात बजेतिर ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका व्यक्ति युनाइटेड हेल्थकेयरका सिईओ ५० वर्षीय ब्रायन थम्पसन भएको प्रहरीले जानकारी दिएका छन् । 

मृतक ब्रायन थम्पसन 


मिडटाउनको प्रसिद्ध होटल हिल्टनको प्रवेशद्धार नजिकै ब्रायनलाई निकै नजिकबाट गोली प्रहार भएको प्रहरीको प्रारम्भिक भनाई छ । गोली लागे लगतै उनलाई नजिकैको माउन्ट साइनइ अस्पतालमा लगेपनि उनको मृत्यु भएको बताइएको छ । 

मिडटाउनको  वेष्ट फिप्टीफोर स्ट्रिट र सिक्स एभेन्यू नजिकैको हिल्टन होटलमा एक मिटिङमा सहभागी हुन ब्रायन होटलतर्फ जाँदै गर्दा यो घटना भएको जनाइएको छ । घटना लगतै प्रहरीले अनुसन्धान शुरु गरेका छन् । प्रारम्भिक अनुसन्धानका आधारमा एक अज्ञात व्यक्तिले थम्पसनलाई होटलको प्रवेशद्वारको नजिकै गोली प्रहार गरेका र उनलाई छातीमा गोली लागेको प्रहरीको भनाई छ । 

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर, होटलको सीसीटिभी फुटेजको अध्ययन गरेको बताइएको छ । फुटजमा एक कालो ज्याकेट र पाइन्ट लगाइएका सिकुटे व्यक्तिले उनलाई गोली प्रहार गरेको देखिएको छ । फुटपाथमा रगतको धप्को नजिकै कम्तीमा पाँच शेल गोलीका खोका देखिएका थिए ।

गोली हान्नुको कारण अझै खुलेको छैन । हालसम्म कसैलाई पक्राउ गरिएको छैन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया