काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि गर्न लागेको छिमेकी राष्ट्र चीनको भ्रमण बारेमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसंग परामर्श गरेका छन् । सरकार प्रमुखले छिमेकी मुलुकहरुको भ्रमणका क्रममा भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने एजेण्डाको बारेमा जानकारी दिने तथा सुझाब संकलन गर्न पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसंग परामर्श गर्ने परम्परा अनुरुप सोमबार छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारे ।
“हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन, प्रधानमन्त्री ओलीले भने ।
चीनसँग नेपालको लामो र मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको प्रधानमन्त्री ओलीले बताए । “हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतासहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्छौँ, प्रधानमन्त्री ओलीले भने । सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा भ्रमणका विषयमा कुनै विवाद नरहेको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे । विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ म साथीहरुलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।” उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए । ।
प्रधानमन्त्री ओलीले अर्का छिमेकी भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए । उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने आग्रह गरे ।
छलफलमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट पारे । उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिमरुप दिने बताए । उनले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको समेत बताए ।
छलफलमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपत्यका बाहिर रहेका कारण अनुपस्थित थिए भने पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याललगायत सहभागी थिए ।
तस्बीरहरुः प्रधानमन्त्री सचिवालय











प्रतिक्रिया