०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

लस एन्जेलस बन्यो ‘स्याङ्चुअरी सिटी’

आप्रवासी डिपोर्ट हुनबाट जोगाउने लस एन्जेलसको पछिल्लो घोषणाले ट्रम्प प्रशासन र संघीय सरकारसँग द्वन्द्व बढाउने देखिन्छ।
लस एन्जेलस बन्यो ‘स्याङ्चुअरी सिटी’

न्यू योर्क सिटी। लस एन्जेलस ‘स्याङ्चुअरी सिटी’ मा रुपान्तरित भएको छ। सिटी काउन्सिलले नोभेम्बर १९ मा अध्यादेश पारित गरि लस एन्जेलसलाई लसलाई ‘स्याङ्चुअरी सिटी’ मा रुपान्तरण गरेको हो।

‘स्याङ्चुअरी सिटी’ बनेसँगै आप्रवासीलाई इतिहासमै ठूलो ‘डिपोर्टेसन’ गर्ने योजना बनाइरहेको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई धक्का पुगेको छ। पारित ‘स्याङ्चुअरी सिटी’ सम्बन्धी अध्यादेश अनुसार लस एन्जेलसले ट्रम्प प्रशासनलाई आप्रवासी ‘डिपोर्ट’ गर्न सिटीको स्रोत र साधन प्रयोग गर्न दिने छैन। साथै, लस एन्जेलस सिटीले संघीय सरकारलाई आप्रवासीसम्बन्धी तथ्यांक र सूचना पनि उपलब्ध गराउने छैन।

आप्रवासी डिपोर्ट हुनबाट जोगाउने लस एन्जेलसको पछिल्लो घोषणाले ट्रम्प प्रशासन र संघीय सरकारसँग द्वन्द्व बढाउने देखिन्छ।

‘यो अध्यादेशले आप्रवसान कार्यान्वयन गर्न संघीय अधिकारीहरुलाई शहरको स्रोत, साधन र सुविधा प्रयोग गर्नबाट रोक्छ,’ लस एन्जेलस सिटी काउन्सिल मेम्बर निथ्या रमनले सिबिएस न्यूजलाई भनेकी छन्। लस एन्जेलसकी मेयर करेन बासले हस्ताक्षर गेपछि यो अध्यादेश कार्यान्वयनमा आउँछ।

‘स्याङ्चुअरी सिटी’ आफैमा कानून होइन। सम्बन्धी सिटी वा स्टेटले विभिन्न नीति तथा कानूनमा परिवर्तन गरि वा प्रहरी परिचालन सम्बन्धी ब्यबस्थामा लचिलो बनेर आफ्नो सिटी र स्टेटलाई ‘स्याङ्चुअरी’ बनाउँछन्। यो अभ्यास करिब एक दशकदेखि प्रचलनमा छ। ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गरेपछि आप्रवासीमैत्री कानूनी ब्यबस्था नभएका शहर र राज्यबाट आप्रवासीहरुले ‘स्याङ्चुअरी सिटी’ मा ओइरिने अनुमान छ। साथै, लस एन्जेलसको पछिल्लो कदमले ट्रम्प प्रशासन र संघीय सरकारसँग द्वन्द्व बढाउने देखिन्छ।

प्रतिक्रिया