०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अमेरिकाका विभिन्न संघसंस्थाद्धारा नेपालमा जारी पहिचानको आन्दोलनप्रति ऐक्यबद्धता

न्यूयोर्कको क्वीन्समा आयोजना गरेको पत्रकार सम्मेलनमा ती संघसंस्थाहरुले कोशी नामाकरण खारेजीको आन्दोलनलाई सफल पार्नको लागि विदेशमा रहेका पहिचानवादी संस्थाहरुको सक्रिय रुपमा ऐक्यवद्धता रहेको बताएका हुन् ।
अमेरिकाका विभिन्न संघसंस्थाद्धारा नेपालमा जारी पहिचानको आन्दोलनप्रति ऐक्यबद्धता


न्यूयोर्क । अमेरिकामा क्रियाशील विभिन्न पहिचानवादी संघसंस्थाहरुले कोशी प्रदेश नामको खारेजी माग गर्दैै नेपालमा घोषणा भएको दोस्रो चरणको आन्दोलनप्रति सामुहिक ऐक्यबद्धता प्रकट गरेका छन् । 

जनता समाजवादी पार्टी नेपाल आवद्ध नेपाली समाज अमेरिकाले आइतबार न्यूयोर्कको क्वीन्समा आयोजना गरेको पत्रकार सम्मेलनमा ती संघसंस्थाहरुले कोशी नामाकरण खारेजीको आन्दोलनलाई सफल पार्नको लागि विदेशमा रहेका पहिचानवादी संस्थाहरुको सक्रिय रुपमा ऐक्यवद्धता रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा नेपाली समाजका अध्यक्ष लोक चेम्जोङले कोशी नामाकरण खारेजीको माग गर्दै नेपालमा लगतार आन्दोलन भइरहे पनि राज्यपक्षबाट गम्भीरता नदिएको भन्दै आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको बताए । उनले राज्यपक्षबाट आदिवासी समुदायको पहिचानलाई समाप्त पार्दै लाने उदेश्य अनुरुप ताप्लेजुङको मुकुमलुङलाई व्यापारीलाई हस्तान्तरण गर्न लागिएको भन्दै आफ्नो पहिचान बचाउन आदिवासी समुदायले साझा मोर्चा बनाएर लाग्नुको विकल्प नभएको बताए ।

नेपालमा शासकवर्गको पहिचान कायमै राख्नुपर्ने तर आदिवासी समुदायको पहिचानलाई चाही किन चाहियो भन्दै अस्वीकार गर्ने अन्यायपूर्ण व्यवहार रहेको भन्दै आजको विश्वमा यस्ता व्यवहार आदिवासी समुदायको लागि स्वीकार्य नहुने बताए । विश्वमा हरेक युद्धको पछाडि पहिचान नै मुख्य कारण रहेको चर्चा गर्दै उनले नेपाली शासक वर्गले यस्ता यथार्तको समयमा नै मनन गर्न नसके ठूलो मुल्य चुकाउनुपर्ने बताए । 

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङले नेपालमा जारी पहिचानको आन्दोलनलाई विदेशमा भए पनि सबै संघसंस्थाहरुले एक भएर नैतिक, भौतिक र आर्थिक रुपमा सहयोग गर्नुपर्ने बताए । आन्दोलन गरेको त भनिएको छ, तर यस्तो आन्दोलनले सफलता मिल्दैन, पूर्ण लडाई लड्न सकेकै छैन, रानजीतिक रुपमा पनि लडाई लड्नु पर्यो, त्यसको लागि एकता जरुरी छ र फिप्नाको एैक्यवद्धता छ, फिप्ना अध्यक्ष गुरुङले भने । 

प्रवाशी नेपाली एकता मन्चका पूर्व अध्यक्ष टेक गुरुङले नेपालमा राजनीतिक दलहरुले निर्वाचनको बेला पहिचानलाई स्वीकार गर्ने भन्ने तर निर्वाचनपछि भने पहिचानलाई अस्वीकार गर्ने धोकापूर्ण व्यवहार गरेकोले शसक्त आन्दोलनको जरुरी रहेको बताए । नेपालमा शुरु भएको दोस्रो चरणको पहिचानको आन्दोलनलाई पूर्ण ऐक्यवद्धता रहेको उनले बताए । 

सो अवसरमा नेप्लिज मूलबासी मंगोल कम्युनिटीका अध्यक्ष निमा वाङचुक शेर्पा, सचिव सुजन थोकर लगायतले पहिचान स्थापनाको लागि सशक्त आन्दोलनको आवश्यकता रहेको बताएका थिए । 

प्रतिक्रिया