न्यू योर्क। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले साउदर्न डिस्ट्रिक अफ न्यू योर्कका लागि नयाँ युएस एटर्नी छानेका छन्।
ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण ग्रहण गरे लगत्तै साउदर्न डिस्ट्रिक अफ न्यू योर्कका युएस एटर्नी जे क्लेटन नियुक्त हुनेछन्। क्लेटन अघिल्लो ट्रम्प प्रशासनमा सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनका चेयरम्यान थिए। उनले साउदर्न डिस्ट्रिक्ट अफ न्यू योर्कका लागि वर्तमान युएस एटर्नी डेमियन विलियम्सलाई प्रतिस्थापन गर्नेछन्।
युएस एटर्नी डेमियन न्यू योर्क सिटी मेयर एरिक आडम्सलाई भ्रष्टाचार अभियोग लगाउने ‘फेडेरल प्रोसिक्युटर’ हुन्। उनको कार्यालय द साउदर्न डिस्ट्रिक अफ न्यू योर्कको अगुवाइमा फेडरेल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) को न्यू योर्क फिल्ड अफिस र न्यू योर्क सिटी डिपार्टमेन्ट अफ इन्भेस्टिगेसन आडम्समाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ। उनीमाथि मुख्य रुपमा टर्कीका अधिकारीहरूले मेयरको निर्वाचन अभियानमा दिएको गैरकानूनी चन्दा र ‘लग्जरी ट्राभल पक्र्स’ स्वीकारेको अभियोग छ। मेयर आडम्सले त्यो सहयोगको गुण मापदण्ड पुरा नगरेको कन्सुलेट भवन सञ्चालन अनुमति दिएर तिरेको अभियोग छ। उनले फायर डिपार्टमेन्टका निरीक्षकको अस्वीकृतिका बावजुद टर्कीले म्यानह्याटनमा बनाएको कन्सुलेट भवन सञ्चालन गर्ने अनुमति दिएका थिए। त्यसपछि फायर डिपार्टमेन्टका निरीक्षकले राजिनामा दिएका थिए।
अमेरिकामा विदेशी प्रभाव नहोस् भन्ने उद्देश्यले निर्वाचन अभियानमा विदेशी सहयोग लिन कानूनले रोक लगाएको छ। तर, चुनावी अभियानका क्रममा आडम्सले टर्कीका अधिकारीबाट चन्दा स्वीकारेको भन्दै उनीमाथि मुद्दा दायर भएको हो। फेडेरल, स्टेट र सिटी तिनै तहका अनुसन्धान निकायले अभियोजन दायर गरेकाले मेयर आडम्समाथिको मुद्दा गम्भीर रुपमा हेरिएको छ। आडम्समाथि कूल १० मिलियन डलर भ्रष्टाचार गरेको अभियोग छ।
तर, उक्त मुद्दामाथि सुनुवाई सुरु हुनु अघि नै राष्ट्रपति निर्वाचित ट्रम्पले अभियोजन दायर निकायहरूको नेतृत्व गर्ने निकायका प्रमुखलाई फेर्नु अर्थपूर्ण रुपमा हेरिएको छ। ट्रम्पले गत अक्टोबर १७ मा न्यू योर्क सिटीमा अल्फ्रेड इ स्मिथ मेमोरियल फाउण्डेसनले आयोजना गरेको डिनर कार्यक्रममा आडम्सप्रति सहानुभूति प्रकट गरेका थिए। उनले एउटै लहरमा केही सिट पर बसेका आडम्सलाई उनीप्रति लगाइएको अभियोगबारे ‘तिनीहरु तपाईँका पछि लागे, तर तपाईँले जित्नुहुन्छ’ भनेका थिए। आडम्स पनि ट्रम्पका कतिपय नीतिविरुद्ध मौन रहँदै आएका छन्। त्यही भएर हालै एउटा अन्तर्वार्तामा आडम्सलाई ‘आपराधिक अभियोगबाट मुक्ति वा माफी पाउन ट्रम्पको नीति आत्मसाथ गरेको’ भन्ने प्रश्न सोधिएको थियो।
आडम्सको मुद्दामा अप्रिल २३ २०२५ देखि सुनवाई सुरु हुने तय भएपनि उनका वकिलले मेयरको आसन्न निर्वाचनलाई कारण देखाउँदै अप्रिल १ देखि सुनुवाइ सुरु गर्न अनुरोध गरेका छन्।
जनवरी २० मा पदभार सम्हाले पछि ट्रम्पले नियुक्त गर्ने नयाँ युएस एटोर्नी क्लेटनलाई सिनेटले अनुमोदन गर्नुपर्छ। हालै निर्वाचित सिनेट र हाउस अर्थात् कंग्रेसमा ट्रम्पको बहुमत छ। नयाँ कंग्रेसले जनवरी ३, २०२५ देखि औपचारिक रुपमा काम सुरु गर्नेछ।










प्रतिक्रिया