न्यूयोर्क । न्यूयोर्कको क्वीन्समा बस्दै आएकी चम्कती बुढाथोकी पहिलो पटक राष्ट्रपति चुनाबमा भोट दिन पाउने भएपछि निकै उत्साहित छिन् । यो वर्ष मात्र अमेरिकी नागरिकता लिएकी बुढाथोकीले भोटरलिष्टमा नाम दर्ता गर्दै नोभेम्बर पाँचको प्रतिक्षा गरिरहेकी छिन् । राष्ट्रपति निर्वाचनको दिनलाई उत्साहपूर्वक पर्खिरहेकी बुढाथोकीलाई मतदानको नमुना मतपत्र हेरेपछि भने केही खिन्न लागेको छ । एउटै मतपत्रमा राष्ट्रपति उपराष्ट्रपति बाहेक पनि धेरैवटा उम्मेद्धारहरुलाई छनौट गर्दै भोट गर्नुपर्ने र मतपत्रको पछाडिपट्टि संघीय सरकार र स्थानीय सरकारको कानून परिवर्तनको लागि दिइएको प्रश्नपत्रमा समेत मत दिनपर्ने देखिएपछि मतपत्र बुझ्न उनलाई निकै कठीन महशुस भइरहेको छ ।
बुढाथोकी जस्तै पहिलो पटक मतदानमा भागलिन लागेका थुप्रै नेपाली तथा आप्रावासी समुदायलाई यतिबेला निर्वाचनको उत्साहसंगै आफ्नो मत विग्रेला कि भन्ने चिन्ता समेत थपेको छ । आप्रावासी समुदायको बसोबास रहेको क्षेत्रहरुमा निर्वाचन शिक्षा कार्यक्रम त्यति धेरै आयोजना नहुने र थोरै मात्र आयोजना हुने कार्यक्रममा पनि सहभागी हुन समय नमिले पछि निर्वाचनको संघारमा आएर आप्रावासी समुदायमाझ निर्वाचनका बेला आफ्ना समुदायले दिएको मत बिग्रने हो कि भन्ने सवाल उठ्न थालेको छ ।
नयाँ मतदाताहरु माझ मतदाता शिक्षामा देखिएको कमिलाई हटाउने उदेश्यले नेपाली भाषी समुदायको सामाजिक न्यायका लागि कार्यरत संस्था ‘अधिकार’ले आइतबार नेपाली अमेरिकी नागरिकका लागि मतदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ । न्यूयोर्कको उडसाइडस्थित आफ्नै कार्यालयमा आयोजना गरेको मतदाता शिक्षा कार्यक्रममा नमुना मतपत्र वितरण गर्दै कसरी मतदान गर्ने भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । सोही मतदाता शिक्षा कार्यक्रममा भेटिएकी बुढाथोकीले नमुना मतपत्र हेरेर केही जान्ने अवसर पाएपनि मतपत्रमा दिइएका धेरै बुँदाहरु बारे जान्न बाँकी रहेको बताएका हुन् । “मतपत्रमा राष्ट्रपति र उपराष्ट्रपति बाहेक पनि धेरैलाई भोट दिनुपर्ने रहेछ । त्यस्तै मतपत्रको पछाडिपट्टि ६ वटा प्रश्नमा हो वा होइन भन्ने उत्तर दिनुपर्ने रहेछ, मैले त अझै बुझ्न सकेन । मतदानको दिन कोही जान्नेमान्छेलाई लगेर जानु पर्ला ।” एनवाईसी नेपालन्युजसंग कुरा गर्दै उनले भनिन् ।
मतदाता शिक्षा कार्यक्रममा सहभागी क्वीन्स एल्महस्टका सरिता केसीलाई पनि मतपत्रमा देखिएका धेरै बुँदा बुझ्न भने कठीन लागेको छ । मतदाता शिक्षा कार्यक्रममा नआएको भए त एकदमै गाह्रो हुने रहेछ । यहाँ आएर धेरै कुरा बुझे, मतपत्रको पछाडि रहेका प्रश्नहरुको बारेमा भने अझै बुझ्न बाँकी छ, यसलाई पनि बुझेर मात्र मतदान गर्न जानेछु, केसीले भनिन् ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति बाहेक संघीय संसदका सिनेटसदस्य, तल्लो सदन प्रतिनिधिसभाको सदस्य, न्यूयोर्क राज्यको सिनेटसदस्य, राज्यको विधानसभा सदस्य र न्यायधीशहरुलाई समेत भोट गर्नुपर्ने हुन्छ । यस्तै मतपत्रको पछाडिपट्टि संघीय सरकारले राखेको पहिलो नम्बरको प्रश्न र त्यसपछि न्यूयोर्क सिटीले राखेको ५ वटा प्रश्नमा हो वा होइन भन्ने जवाफ दिनुपर्नेछ ।
“मतदाता शिक्षा कार्यक्रममा सहभागी भएर अरु त सबै बुझे मतपत्रको पछाडि राखेको प्रश्नहरुमा केकस्ता बुँदा छन् भनेर थाहा पाएर भोट गर्न पाए राम्रो हुने थियो भन्ने लागेको छ ।” क्वीन्स मासपेठ बस्दै आएका सरिता हिराचनले भनिन् । कार्यक्रममा सहभागी हुन पाएकोले मतदानको बारेमा धेरै कुरा बुझेको उनले बताए । पहिलो पटक राष्ट्रपति निर्वाचनमा सहभागी हुन लागेकोले निकै उत्साहित रहेको बताउने हिराचनले नोभेम्बर पाँच अघि नै अर्लि भोटिङ अन्तरर्गत मतदान गर्ने बताए । मतदाता शिक्षाका क्रममा भोटरलिष्टमा आफ्नो नाम छकि छैन, कुन मतदान केन्द्रमा कतिबजे जाने जस्ता कुराहरु समेत सिकेकोले अब सजिलोसंग भोट गर्न सक्ने पनि उनले सुनाए ।
कामको व्यवस्तताका कारण अर्लि भोटको लागि शनिबार मतदानमा जाने तयारीमा रहेका बिनु हिराचनले मतदाता शिक्षा कार्यक्रममा नआएको भए भोट गर्न जाने बेलामा निकै समस्या हुने रहेछ भन्ने लागेको बताए । पहिलोपटक भोट गर्न लागेकोले धेरैकुराहरु सिक्नुपर्ने देखिएको उनले बताए ।
अमेरिकामा गैर नाफामुलक संस्थाहरु मध्ये ५०१ सी थ्री मान्यता प्राप्त संस्थाले मतदाता शिक्षा मात्र दिन मिल्छ भने ५०१ सी फोर मान्यता प्राप्त संस्थाले राजनीतिक लबिङ नै गर्न पाइन्छ । नेपाली संस्था अधिकार सी थ्री मान्यताको भएकोले मतदानमा के मा भोट दिने भन्ने बारेमा केही नबताएर मतदाता शिक्षा कार्यक्रम मात्र संचालन गरिएको मतदाता शिक्षा कार्यक्रमका प्रशिक्षक एवं अधिकारकी बरिष्ट पोलिसी मेनेजर छिरिङ लामाले बताइन् । न्यूयोर्कमा सी फोर मान्यता प्राप्त नेपाली संस्था कुनै छैन ।
पहिलोपटक भोट दिने जानेहरुका लागि कुन कुन उम्मेद्धारलाई भोट दिने भन्ने नै अलमल देखिएको छ । मतपत्रमा आएको उम्मेद्धारको सूचि र अन्य प्रश्नपत्रहरुलाई बुझाएर मात्र मतदानमा गयो भने मात्र आफ्नो मतको सुरक्षा हुन सक्ने लामा बताउछिन् । यसप्रकारको मतदाता शिक्षा कार्यक्रम राजनीतिक दलहरुले समेत आयोजना गरेमा अझ राम्रो हुने उनी बताउछिन् ।
पहिलोपटक भोट दिन लागेका मतदाताहरुलाई कसरी सुरक्षित मतदान गर्ने भनेर मतदाता शिक्षा कार्यक्रम आयोजना गरिएको अधिकारका सह निर्देशक नर्वदा क्षेत्रीले बताए । “मतदानको बारेमा धेरैलाई जानकारी छैन तर समय अभावका कारण यसप्रकारको कार्यक्रममा पनि त्यति धेरै उपस्थित हुँदैनन् ।” उनले गुनासो पोखिन । यसबारेमा बुझ्ने भाषामा संस्थाको फेसबुक पेजमा समेत जानाकारीहरु पोष्ट गरेकोले त्यहाँबाट पनि जानाकारी लिन उनले नेपाली समुदायमा आग्रह गरे । नेपाली समुदायको एक भोटपनि खेरा जानु हुँदैन, सह निर्देशक क्षेत्रीले भनिन् । अधिकारले धेरै नेपाली समुदायलाई भोटर लिष्टमा दर्ता समेत गराइदिएको थियो ।
‘हामी हरेक निर्वाचनमा मतदातालाई शिक्षा दिने कार्यक्रम गछौं,’ उनले भनिन्, ‘नयाँ मतदाता आफ्नो मताधिकार प्रयोग गर्न सक्षम बनुन् भन्ने हाम्रो उद्देश्य हो ।’
मतदानको दिन मतदानस्थलमा पनि मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने बारेमा कर्मचारीहरुले पूर्ण जानकारी गराउछ । यस्तै आफुले चाहेका व्यक्तिलाई मतदान गराउनका लागि तयार पारिएका सामाग्री पनि मतदान बुथमा लगेर जान पाइन्छ । यसैगरी भोटरलिष्टमा नाम भए नभएको बारेमा लथअखयतभचकभबचअज।अयm मा खोज्न सकिन्छ भने ाष्लमmथउयििकष्तभ।खयतभ।लथअ मा गएर आफुले मतदान गर्ने बुथको जानकारी लिन सकिन्छ ।







प्रतिक्रिया